इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शनमा उत्रिएका विद्यार्थी। तस्बिर : हिमालप्रेस
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका चार सहिदपार्क नजिकको जंगलमा १६ वर्षीया इनिशा विकको शंकास्पद मृत्यु भएको १३ दिन बितिसक्दा पनि शव उठाइएको छैन। न्यायको माग राख्दै उनका परिवारले शव उठाएका छैनन्। हत्यारालाई कडा कारबाहीको माग राख्दै कर्णालीका प्रत्येक जिल्ला र देशभरबाट इनिशाका न्यायका पक्षमा आवाज उठिरहेको छ।
सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाका आफन्तले सामूहिक बलात्कार भएको भन्दै शव बुझ्न मानेका छैनन्। शव अहिल्य पनि प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।
२३ गते बिहान ६ बजे ट्युसन पढ्न घरबाट निस्किएकी वीरेन्द्रनगर-१ मा बस्दै आएकी इनिशाको शवको पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएका कारण अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा.अर्विन शाक्यले बताए।
‘अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्क भएको देखिन्छ। सामूहिक बलात्कार हो भन्ने त्यस्तो तथ्य भेटिएको छैन,’ उनले भने, ‘अन्य रिपोर्ट आउन बाँकी छ। नशालु औषधिको प्रयोग हो या होइन, रगत जाँचका लागि विधिविज्ञान प्रयोगशालामा पठाएका छौँ।’
इनिशा विक घटनाको थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले अनुसन्धान गरिरहेको छ। सुर्खेत प्रहरीले उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहकार्य गरेर काम अघि बढिरहेको जानकारी दिए।
प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली शुक्रबार वीरेन्द्रनगर आएपछि शनिबारदेखि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए।
सीआईबीले अनुसन्धान गरिरहेको छ थप विवरण आउन अझै एक साता लाग्नसक्ने उनले जानकारी दिए। फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्री अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको डीएसपी बुढथापाले जानकारी दिए।
पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ। प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ।
मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारैजना १८ वर्षमुनिका रहेको डीएसपी बुढथापाले जानकारी दिए।






