इनिशा विक मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

रमा केसी ११ चैत २०८२ १८:१५ | Wednesday, March 25, 2026
36
SHARES
इनिशा विक मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी १६ वर्षीया इनिशा विकको फागुन २१ गते रहस्यमय मृत्यु भएको थियो। त्यस दिन ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएको थियो। लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। पक्राउ परेका ती किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि भएको अत्यधिक रक्तस्रावका कारण बेहोस भएको बयान दिएका छन्।

इनिशाको शव पोस्टमार्फटम रिपोर्टमा पनि मृत्युको कारण यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण भएको रक्तस्राव देखाइएको थियो। उक्त घटनामा संलग्न भएको भन्दै अन्य तीनजनालाई समेत पक्राउ गरी प्रहरीले अनुन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए।

प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको जनाएको छ। ‘प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ,’ उनले भने, ‘अब मुद्दा सरकारी वकिल कार्यालयले हेर्नेछ।’

‎‎घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको पनि उनले बताए। ‎बाँकी रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने डीएसपी बुढ्थापाले जानकारी दिए।

’प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान कार्य सम्पन्न गरिसकेकोले अबको कानुनी प्रक्रिया अदालत र सरकारी वकिलको कार्यालयमार्फत अघि बढ्नेछ,’ उनले भने, ‘इनिशा विक मृत्यु प्रकरणको अनुसन्धान पूरा गरेको छ।’

प्रहरीका अनुसार यौन सम्पर्कपछि भएको रक्तस्रावका कारण मृत्यु हुन गएको देखिएको छ।

उनका अनुसार मुख्य अभियुक्तलाई जबर्जस्ती करणी र कर्तत्व ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको माग गरिएको छ। पक्राउ परेका अन्य तीनजनाविरुद्ध घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेको अभियोगमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको बताएको छ।

इनिशाका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको थियो।

प्रहरीले इनिशाको मृत्युको कारण पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको थियो। पीडित परिवारले घटनामा संलग्नमाथि कारबाही नहुन्जेल शव नबुझ्ने अडान लिएका छन्। १९ दिनयता इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै राखिएको छ।

प्रकाशित: ११ चैत २०८२ १८:१५ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast