काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६६ प्रतिशत रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मुद्रास्फीति भने एक दशमलव ९२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ८६ प्रतिशत रहेको थियो।
केन्द्रीय बैंकका अनुसार गत माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६३ प्रतिशत, घ्यू तथा तेलको सात दशमलव ६१ प्रतिशत र फलफूलको सात दशमलव ४१ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव १९, खाद्य तथा खाद्यजन्य पदार्थको दुई दशमलव ९७ र मरमसलाको दुई दशमलव ६१ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१ दशमलव ९८, शिक्षाको सात दशमलव ४६, कपडाजन्य तथा जुत्ताचप्पलको पाँच दशमलव २८, सुर्तीजन्य पदार्थको चार दशमलव १५ र मदिराजन्य पेयपदार्थको तीन दशमलव ८५ प्रतिशतले बढेको छ।
सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ०८ प्रतिशतले घटेको छ। त्यस्तै गत माघ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ५१ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ५३, मधेस प्रदेशको पाँच दशमलव १४, बागमती प्रदेशको तीन दशमलव १०, गण्डकी प्रदेशको दुई दशमलव ४२, लुम्बिनी प्रदेशको तीन दशमलव २९, कर्णाली प्रदेशको एक दशमलव ६२ र सुदूरपश्चिम प्रदेशको एक दशमलव ६४ प्रतिशत रहेको छ।
त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ४८ प्रतिशत, तराईको तीन दशमलव ६६ प्रतिशत, पहाडको दुई दशमलव ६८ प्रतिशत र हिमालको दुई दशमलव ५८ प्रतिशत रहेको छ।





