‘बाख्राको हैजा’ भनेर चिनिने पीपीआर रोगको संक्रमण

हिमाल प्रेस २० फागुन २०८२ १०:४२ | Wednesday, March 4, 2026
6
SHARES
‘बाख्राको हैजा’ भनेर चिनिने पीपीआर रोगको संक्रमण

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पीपीआर रोगको संक्रमण पुष्टि भएको छ। पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको परीक्षणअनुसार कैलालीको धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाबाट संकलित नमूनाको नतिजा ‘पोजेटिभ’ आएको हो।

प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार व्यावसायिक फार्म र स्थानीय किसानले पालेका बाख्रामा पीपीआरको संक्रमण देखिएको छ। अनुसन्धानका क्रममा भारतबाट क्वारेन्टाइन प्रक्रिया पूरा नगरी अवैध रूपमा ल्याइएका बोकाहरूबाट संक्रमण फैलिएको पुष्टि भएको जनाइएको छ। वरिष्ठ पशु चिकित्सक जोशीले गैरकानुनी रूपमा नेपाल भित्र्याइएका ती बोकाबाटै स्थानीय बथानमा पिपीआरको विषाणु सरेको हुनसक्ने बताए।

सीमानाकामा हुने स्वास्थ्य जाँचलाई छलेर ल्याइएका पशुका कारण अहिले स्वस्थ बाख्रासमेत जोखिममा परेका छन् । पिपीआर अत्यन्त सङ्क्रामक विषाणुजन्य रोग भएकाले छोटो समयमै ठूलो सङ्ख्यामा फैलिन सक्ने र उच्च मृत्युदर निम्त्याउन सक्ने खतरा रहेको पशु प्राविधिकहरू बताउँछन्। यस अवस्थालाई मध्यनजर गर्दै पशु सेवा कार्यालय र प्रयोगशालाले किसानलाई जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरेका छन् । नयाँ पशु खरिद गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गराउन र कम्तीमा २१ दिनसम्म छुट्टै राखेर मात्र पुरानो बथानमा मिसाउन सुझाव दिइएको छ।

खोरमा रहेका बाख्रामा कडा ज्वरो आउने, मुखमा घाउ देखिने, आँखा–नाकबाट पानी बग्ने वा झाडापखाला लाग्नेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको पशु प्राविधिक वा भेटेरिनरी अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ। अवैध पशु ओसारपसारका कारण देखिने यस्ता महामारीले समग्र पशुपालन क्षेत्रलाई नै गम्भीर असर पार्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्नुका साथै किसान स्वयं सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ। रासस

प्रकाशित: २० फागुन २०८२ १०:४२ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast