भारतीय बलर अर्शदीपलाई आईसीसीले गर्‍यो जरिबाना

हिमाल प्रेस २७ फागुन २०८२ १२:३० | Wednesday, March 11, 2026
16
SHARES
भारतीय बलर अर्शदीपलाई आईसीसीले गर्‍यो जरिबाना

भारत- आइतबार सम्पन्न टी-२० विश्वकप २०२६ को फाइनल खेलका क्रममा नियम उल्लंघन गरेको भन्दै भारतीय फास्ट बलर अर्शदीप सिंहलाई जरिबाना गरिएको छ।

न्यूजिल्यान्डविरुद्धको उक्त खेलमा अनुशासनहीन व्यवहार देखाएको ठहर गर्दै उनलाई म्याच फीको १५ प्रतिशत रकम जरिबाना गरिएको हो।

खेलको ११औँ ओभरमा अर्शदीपले बल समातेर न्यूजिल्यान्डका ब्याटर ड्यारिल मिचेलतर्फ आक्रामक ढंगले फ्याँकेका थिए। सो बल मिचेलको प्याडमा लागेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार खेलका क्रममा कुनै खेलाडीमाथि खतरनाक वा अनुपयुक्त तरिकाले बल वा अन्य सामग्री प्रहार गर्न पाइँदैन। उक्त नियम उल्लंघन गरेको निष्कर्षसहित अर्शदीपमाथि कारबाही गरिएको हो।

जरिबानासँगै अर्शदीपको अनुशासन रेकर्डमा एक ‘डिमेरिट पोइन्ट’ पनि थपिएको छ। पछिल्लो दुई वर्षको अवधिमा उनको यो पहिलो गल्ती हो। आईसीसीको नियमअनुसार दुई वर्षभित्र चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट पुगेमा सम्बन्धित खेलाडीमाथि खेल्न प्रतिबन्ध लाग्न सक्छ।

अर्शदीपले आफ्नो गल्ती स्वीकार गरिसकेकाले यस विषयमा थप सुनुवाइ आवश्यक नरहेको जनाइएको छ। खेलपछि भने उनले खेल भावना देखाउँदै मिचेलसँग हात मिलाएका थिए।

उक्त फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमानी तेस्रो पटक टी-२० विश्वकप उपाधि जितेको थियो।

प्रकाशित: २७ फागुन २०८२ १२:३० | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast