चुनाव

कति दल, कति उम्मेदवार र कति छन् मतदाता? यस्तो छ तथ्यांक

हिमाल प्रेस २१ फागुन २०८२ १३:३८ | Thursday, March 5, 2026
14
SHARES
कति दल, कति उम्मेदवार र कति छन् मतदाता? यस्तो छ तथ्यांक सुनसरीको निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवा नगरपालिका–८ स्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता। तस्बिर : नवीन गड्तौला/रासस

काठमाडौँ- नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन जारी छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म हुनेछ। मतदानमार्फत मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाका सदस्य चयन गर्नेछन्।

निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सांसद चयन हुनेछन्। प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।

उम्मेदवारमध्ये ३ हजार १७ पुरुष, ३८८ महिला र १ जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ। यस निर्वाचनमा ६८ राजनीतिक दल सहभागी भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन्। आयोगका अनुसार यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका नागरिकको हो।

आयोगले सार्वजनिक गरेको क्षेत्रगत विवरणअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता रामेछापमा १ लाख ८७ हजार ९५२ रहेका छन्। रामेछाप एउटै निर्वाचन क्षेत्र भएको जिल्ला हो।

त्यस्तै अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ मतदाता रहेका छन् र त्यहाँ पनि एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ।

सबैभन्दा कम मतदाता भने मनाङमा ७ हजार रहेका छन्। मनाङमा पनि एउटै निर्वाचन क्षेत्र रहेको निर्वाचन आयोगले जनाएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि भएको यस निर्वाचनमा यसअघिका चुनावमा गठबन्धन गरेर प्रतिस्पर्धा गर्ने प्रमुख दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमालेलगायत यसपटक भने अलग अलग चुनावी मैदानमा छन्।

झापा-५ र सर्लाही-४ लगायतका निर्वाचन क्षेत्रलाई यसपटक विशेष चासोका साथ हेरिएको छ। झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाका नेता अमरेश सिंह प्रतिस्पर्धामा छन्।

प्रकाशित: २१ फागुन २०८२ १३:३८ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast