सबै तस्बिरः रत्न श्रेष्ठ /रासस
काठमाडौँ- चैत कृष्ण औंसीको दिन बुधबार काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ। काठमाडौँ उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।
परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दु:ख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडीखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।
घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरू प्रदर्शन गरेको थियो। नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता थियो।
घोडेजात्रामा सैनिकहरूले विभिन्न व्याण्डद्वारा धुनहरु प्रस्तुत गरेका थिए भने घोडाहरूद्वारा शो जम्प प्रस्तुत गरेको थियो।
यो प्रस्तुतिमा घोडाहरूले विभिन्न पर्खालहरू नाघेका थिए। साहसिक सेनाहरूले घोडाको चालको गतिमा विभिन्न पर्खालहरू उफ्रेर अगाडि बढेका थिए। यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतिमा सैनिकहरूले घोडाको सहायता दिँदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए। घोडा दौड समेत आयोजना गरिएको थियो।
यस्तै तालिम प्राप्त कुकुरहरूको प्रस्तुति निकै रोचक देखिएको थियो। घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्पर्धामा विजयी सेनाहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए।













