काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आइरहँदा यसपटक केही नेताहरूले भने पराजयको ह्याट्रिक पूरा गरेका छन्। उनीहरूले २०७४, २०७९ र २०८२ को चुनावमा लगातार पराजित भएर ह्याट्रिक पूरा गरेका हुन्। लगातार चुनाव हार्नेमा एमाले, कांग्रेस र नेकपाका नेता धेरै छन्।
निरन्तर ओरालोमा राजन भट्टराई
काठमाडौँ क्षेत्र नम्बर ४ बाट लगातार पराजित हुने नेतामध्येमा पर्छन् राजन भट्टराई। नेकपा एमालेबाट उम्मेदवार उनले यसपटक पनि चुनाव जित्न सकेनन्। २०७४ सालमा भट्टराई नेपाली कांग्रेसका नेता गगनकुमार थापासँग पराजित भए। गगन थापाले २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत ल्याएका थिए। थापासँग भट्टराई तीन हजार ४१० मतले पराजित भएका थिए।
भट्टराई २०७९ को चुनावमा पनि थापासँगै पराजित भएका थिए। त्यतिबेला थापाले २१ हजार ३०२ मत ल्याएका थिए। भट्टराईले १३ हजार ८५५ मात्रै मत ल्याएका थिए। सात हजार ८५५ मतान्तरले भट्टराई पराजित हुन पुगे। हालको चुनावमा भने भट्टराई तेस्रो स्थानमा खुम्चिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले २९ हजार १४२ मत ल्याए चुनाव ज्तिदा कांग्रेसका सचिन तिमल्सेना आठ हजार ८२४ मत ल्याएर दोस्रो भए भने भट्टराईले पाँच हजार ७३३ मत ल्याए।
काठमाडौँ १ ले तेस्रो पटक पनि पत्याएन रवीन्द्र मिश्रलाई
एक समय पत्रकारिता, वैचारिक बहस र ‘वैकल्पिक राजनीति’ निर्माणमा आशा जगाएका रवीन्द्र मिश्रका लागि काठमाडौँ-१ फेरि एकपटक कठोर राजनीतिक यथार्थ बनेको छ। प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा राप्रपाका उम्मेदवार मिश्र तेस्रो स्थानमै सीमित भए। त्यससँगै यस क्षेत्रमा उनले हारको ह्याट्रिक पूरा गरे।
यसपटकको चुनावमा काठमाडौँ १ मा रास्वपाकी रञ्जु दर्शना विजयी भइन्। उनले १५ हजार ४५५ मत प्राप्त गरिन्। कांग्रेसका प्रबल थापा ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र भने तीन हजार ९७२ मतमा खुम्चिए।
मिश्र २०७९ को चुनावमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए। त्यतिबेला प्रकाशमानले सात हजार १४३ मत ल्याएर चुनाव जित्दा मिश्रले सात हजार १८ मत ल्याएका थिए। त्यस्तै मिश्र २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट चुनावमा होमिएका थिए। त्यतिबेला पनि मिश्र कांग्रेसका उनै सिंहसँग पराजित भएका थिए। प्रकाशमानले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत ल्याएका थिए।
राजनीतिमा चतुर तर चुनावी हारमा ह्याट्रिक : कमल थापा
राजतन्त्र र गणतन्त्र दुवै व्यवस्थामा मन्त्री हुने राजनीतिका एक चतुर खेलाडी कमल थापाले पनि चुनावमा पराजित भएर ह्याट्रिक पूरा गरेका छन्। राजसंस्था र हिन्दुराज्यको नाम भजाएर राजनीति गर्ने थापा चुनावमा नराम्रोसँग पराजित भए।
२०७४ सालको चुनावमा थापा मकवानपुर–१ मा पराजित भए। उनलाई नेकपा एमालेका कृष्णप्रसाद दहालले ४० हजार ६३० मत ल्याई पराजित गरेका थिए। थापाले ३४ हजार ५५८ मत ल्याए। सत्ता र शक्तिका भोका थापा संसदीय चुनाव हारेपछि बिलखबन्दमा परे। त्यसपछि उनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भए। र, पार्टी नै छाडे।
२०७९ सालको चुनावमा थापाले नेकपा एमालेको चुनाव चिह्व सूर्य लिएर मकवानपुर–१ बाट चुनाव लडे तर तेस्रो भए। त्यहाँ उनकै पूर्व पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) का नेता दीप सिंहले २७ हजार ८१६ मतसहित चुनाव जिते। नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) २५ हजार ४२३ मतसहित दोस्रो हुँदा थापा २५ हजार ४२० मतसहित तेस्रो भए।
मकवानपुरबाट लगातार चुनाव हारेपछि थापाले चुनाव क्षेत्र परिवर्तन गरे। हालको चुनावमा उनी काठमाडौँ ५ को उम्मेदवार भए तर चौथो स्थानमा आए। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल नौ हजार १५९ मतसहित दोस्रो, नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल चार हजार ७०१ मतसहित तेस्रो र थापा एक हजार ९२२ मतसहित चौथो भए। यसपटक भने थापाले जमानत पनि जोगाउन सकेनन्।
देउवा गुटकी डिना उपाध्यायको पनि तेस्रो हार
लगातार चुनाव हारेर ह्याट्रिक पूरा गर्ने महिला उम्मेदवार हुन् नेपाली कांग्रेसकी पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)। उनले मकवानपुर १ र २ बाट चुनाव लडिन्। २०७४ सालमा मकवानपुर–२ बाट चुनाव लडेकी डिना तत्कालीन नेकपा एमालेका विरोध खतिवडासँग पराजित भइन्। खतिवडाले ४४ हजार ७४४ मत ल्याउँदा डिनाले ३२ हजार ६८५ मत ल्याएकी थिइन्।
उनी २०७९ को चुनावमा क्षेत्र नम्बर १ सरिन्। त्यहाँ पनि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहसँग पराजित भइन्। सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाको मत थियो २५ हजार ४२३ । हालको चुनावमा पनि डिना क्षेत्र १ बाटै लडिन् र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश गौतमसँग पराजित भइन्। गौतमले ३६ हजार ३३ मत ल्याए। गगन थापा सभापति भएपछि पहिलोपटक संसदीय चुनाव लडेकी डिनाले १४ हजार ३८ मत मात्रै ल्याइन्। उनी पूर्वसभापति शेरबहादुर देउवा गुटकी हुन्।
महेन्द्र यादव : दुई पटक महासेठको सिकार अहिले रास्वपाबाट पराजित
चुनाव हारेर ह्याट्रिक गर्ने अर्का हुन् नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव। २०७४ सालमा यादव धनुषा–१ बाट पराजित भए। त्यतिबेला नेकपा एमालेका रघुवीर महासेठले २२ हजार ५३२ मत ल्याएर जित्दा यादव १९ हजार ९९१ मतसहित पराजित भए। यादव २०७९ को चुनावमा भने धनुषा–४ बाट चुनाव लडे। त्यहाँ पनि उनी पराजित भए। त्यतिबेला पनि यादव महासेठकै सिकार भए। रघुवीरले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत ल्याए।
दुईपटक महासेठबाटै पराजित भएका यादव हालको चुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी लहरबाट चुनाव जित्न वञ्चित भए। धनुषा–४ मा रास्वपाका राजकिशोर महतोले ४८ हजार २७० मत ल्याएर चुनाव जित्दा यादव १५ हजार ८०९ मतसहित दोस्रो भए। तर यसपालि यादव महासेठभन्दा माथि छन्। एमालेका महासेठ ११ हजार ५२९ मतसहित तेस्रो छन्।
रामचन्द्र झा : पार्टी परिवर्तन तर चुनावमा सधैँ पछाडि
२०७४ सालमा नेकपा एमालेबाट डा.बाबुराम भट्टराईको नयाँ शक्ति अभियानमा जोडिए वैकल्पिक राजनीति गर्न खोजेका रामचन्द्र झा पनि लगातार चुनावमा पराजित हुने नेतामध्येका हुन्। नयाँ शक्तिबाट तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका झा २०७४ सालको चुनावमा धनुषा–२ बाट चुनाव लडे। संघीय समाजवादी फोरमका उमाशंकर अरगरियाले ३२ हजार ४४ मतले चुनाव जित्दा झा झन्डै आधा मतले पराजित हुन पुगेका थिए। झाको मत १८ हजार ७१५ थियो।
माओवादी केन्द्रबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरी २०७९ को चुनाव झाले सोही क्षेत्रबाट चुनाव लडे। त्यतिबेला उनी तेस्रो भए। नेपाली कांग्रेसका रामकृष्ण यादव २० हजार ११२ मतसहित विजयी, नेकपा एमालेका उमाशंकर अरगरिया १९ हजार ९५५ मतसहित दोस्रो हुँदा झा १३ हजार ६०५ मतसहित तेस्रोमा खुम्चिए। त्यसपछि उनको राजनीति कमजोर हुँदै जाँदा हालको चुनावमा उनी चौथो नम्बरमा आइपुगेका छन्। उक्त क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राम विनोद यादव ४१ हजार ६३७ मतसहित विजयी, कांग्रेसका दिनेश प्रसाद यादव परसैला १० हजार १९८ मतसहित दोस्रो, नेकपा एमालेका उमाशंकर अरगरिया १० हजार १५३ मतसहित तेस्रो र झा ८ हजार ४०३ मतसहित चौथो भएका छन्।
जनअनुमोदनमा सधैँ पछाडि नारायणकाजी श्रेष्ठ
आफूलाई स्वच्छ छविको नेताको बताउने नेपाली कम्युनिस्ट पार्टीका नेता (पूर्वमाओवादी) नारायणकाजी श्रेष्ठ जनताबाट अनुमोदन नभएका नेताको सूचीमा पर्दछन्। श्रेष्ठ कहिले समानुपातिक कहिले राष्ट्रियसभाबाट मन्त्री तथा सांसद्सम्म भइसके। गोरखा-२, मकवानपुर–२ र सर्लाही–३ मा प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गरे पनि श्रेष्ठ सधैँ पराजित भएका छन्।
२०७० सालको दोस्रो संविधिानसभा चुनावमा श्रेष्ठ मकवानपुर-२ बाट पराजित भएका थिए। त्यसपछि श्रेष्ठले २०७४ सालमा आफ्नै जिल्ला गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडे। उनले त्यतिबेला नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईसँग चुनावी प्रतिस्पर्धा गरेका थिए। बाबुराम ३१ हजार ८०७ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले २४ हजार ९३३ मत ल्याएर पराजित भए। त्यतिबेला भट्टराई र श्रेष्ठको मतान्तर ६ हजार ८७४ थियो।
०७९ को चुनावमा भने नारायणकाजी र बाबुराम दुवैले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त क्षेत्र छाडे र चुनाव जिताए।
०८२ सालको चुनाव लड्न भने श्रेष्ठ मधेश झरे। सर्लाही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवारसँग श्रेष्ठ फराकिलो मतान्तरले पराजित भए। कलवारले ४६ हजार ८९० ल्याउँदा श्रेष्ठले जम्मा १३ हजार ३३८ मत ल्याए। कलवार र श्रेष्ठबीचको मतान्तर ३३ हजार ५५२ छ।






