काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले आज प्रधानमन्त्रीको शपथ लिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा सांसद बालेन्द्र शाहलाई विभिन्न २२ वटा भ्रष्टाचार काण्डको छानबिन गर्न आग्रह गरेका छन्।
शाहीले आज राम नवमीको अवसरसँगै यस दिनलाई नेपालका लागि नयाँ आशा बोकेको दिनका रूपमा सामाजिक सञ्जालमा उल्लेख गर्दै देशमा परिवर्तनको अपेक्षा व्यक्त गरेका छन्। उनले युवा नेतृत्वको उदयसँगै देशमा सुशासन र न्याय स्थापना हुने विश्वास व्यक्त गरेका हुन्।
उनले आफ्ना विगतका अनुभव स्मरण गर्दै भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूलाई ज्यानै जाने गरी आक्रमण भएको दाबी पनि गरेका छन्। सांसदका रूपमा करिब साढे दुई वर्ष भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा पनि अपेक्षित परिणाम नआएको उल्लेख गरेका छन्।
शाहीले अब भने नयाँ नेतृत्वसँग आशा जागेको भन्दै विभिन्न चर्चित भ्रष्टाचार तथा अनियमितता प्रकरणहरूको सूची प्रस्तुत गरेका छन्।
तीमध्ये लाउडा जहाज भ्रष्टाचार, वाइडबडी खरिद प्रकरण, सुडान घोटाला, लडाकु शिविर अनियमितता, ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, भिजिट भिसा प्रकरण, ओम्नी, औषधी खरिद प्रकरण, सुन तस्करी प्रकरणहरू, सहकारी ठगी, टेरामक्स प्रकरणलगायत रहेका छन्।
उनले यी सबै प्रकरणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याएर जेल सजाय दिलाउनुपर्ने माग गरेका छन्। निर्मला पन्त हत्याकाण्डका दोषीहरूलाई पनि पक्रिनुपर्ने उल्लेख गर्दै न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्।
शाहीले शाहलाई सत्य र न्यायको मार्गमा दृढ रहन सुझाव दिँदै आवश्यक परे कठिनाइ सहन तयार रहनुपर्ने टिप्पणीसमेत गरेका छन्।




