नेपाली कांग्रेसका सभापति गगनकुमार थापा।
काठमाडौँ- नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका छन्। थापालाई खुलापत्र लेख्दै नेता श्रेष्ठले हालै सम्पन्न निर्वाचनमा अपक्षाकृत परिणाम आउन नसकेको भन्दै अब कांग्रेसीजनहरूलाई एकढिक्का बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन्।
उनले थापाकै नेतृत्वमा कांग्रेसीहरूले नयाँ ऊर्जा, नयाँ आशा र नयाँ रूपान्तरणको बाटो देखिरहेको उल्लेख गर्दै यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर नहुने बताएका हुन् ।
नेता श्रेष्ठले यस संकटको घडीमा पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै मिलेर कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञासमेत गरेका छन्। सर्लाही ४ बाट चुनाव हारेका थापाले नैतिकताका आधारमा सभापतिबाट राजीनामा दिने चर्चा चलेसँगै अहिले राजीनामा हैन पार्टीलाई संगठित गरेर अगाडि बढ्नु पर्ने समय आएको बताएका छन् ।
चुनावमा असहयोग गर्ने कांग्रेसको एक पक्षबाटै गगनलाई राजीनामा दिन सामाजिक सञ्जालमार्फत दबाब दिइरहेका छन् । चुनावमा गद्धारी गरेका समाचार सञ्चारमाध्यममा धमाधम आइरहेका छन् ।
यस्तो छ अग्रज नेता श्रेष्ठले गगन थापालाई लेखेको खुला पत्रः
प्रिय गगन बाबु, सम्पन्न संघीय संसदको निर्वाचनको परिणाम हाम्रो अपेक्षाअनुसार आउन सकेन। तर, हाम्रो लागि निर्वाचनको नतिजा भन्दा पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण, र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य महत्व राख्छ। देश फेरि लयमा फर्कन थालेको छ, र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ।
यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने, र संगठनात्मक रुपान्तरण गर्ने गहिरो सन्देश दिएको छ। यो नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रुपान्तरण गर्न नसकिएको चेतावनी पनि हो। अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म संगठन सुदृढीकरण गर्ने संकल्पका साथ अघि बढ्नु अपरिहार्य छ।
गगन बाबु, तपाईंले देखाएको साहस, दृष्टि, र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझै दृढ बनाएको छ। यस कठिन घडीमा राजनीमा ल्याउनु वा राजनीमा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ। तपाईंको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रुपान्तरणको बाटो देखिरहेका छौँ ।
यस संकटको घडीमा तपाईंलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै, हामी सबै मिलेर नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौं।
जय नेपाल।( गोपालमान श्रेष्ठ, नेता, नेपाली कांग्रेस





