वीर अस्पतालमा काठमाडौँ-२७ का स्थानीयवासीको निःशुल्क कलेजो परीक्षण

हिमाल प्रेस ११ चैत २०८२ २१:१४ | Wednesday, March 25, 2026
8
SHARES
वीर अस्पतालमा काठमाडौँ-२७ का स्थानीयवासीको निःशुल्क कलेजो परीक्षण

काठमाडौँ- काठमाडौँ महानगरपालिका-२७ ले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क रूपमा वडावासीको कलेजो जाँच गर्ने भएको छ। कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी र अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माबीच उक्त परीक्षणका लागि सम्झौतासमेत भइसकेको छ।

सम्झौता बमोजिम कलेजो परीक्षण र प्रारम्भिक उपचारसमेत हुनेछ। कार्यवाहक प्रमुख डंगोलले सहरवासीमा विस्तारै नसर्ने रोगको जोखिममा पर्दैगएको अवस्थामा वडावासीका लागि वडा कार्यालय अगाडि ल्याएको कार्यक्रम प्रभावकारी रहेको बताइन्।

धूमपान र मद्यपानको कुलतका कारण कलेजोको जोखिम बढेको छ। वडाध्यक्ष खड्गीले जीवनशैली र खानपानका कारण पनि कलेजोमा गम्भीर समस्या परेको तथ्य वडावासीलाई बुझाउन जाँच र प्रारम्भिक उपचारका लागि सहकार्य अघि बढाइएको जानकारी दिए।

प्राडा शर्माका अनुसार समस्या सहनै नसक्ने नभइ मानिस कलेजो जँचाउन जाँदैनन्। उहाँले उपचार लाग्ने अवस्थामा रोग पहिचान गर्न सके जनस्वास्थ्यको ठूलो संकट टार्न सकिने बताए। अस्पतालमा जाँचका लागि जान वडावासीले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर हुनुपर्नेछ अर्थात् प्रारम्भिक अवस्था केन्द्रमा जाँचिनेछ।

रिफर भएका व्यक्तिको अस्पतालमा कम्प्लिट ब्लड काउन्ट (सीबीसी), लिभर फङ्सन टेष्ट (एलएफटी), फास्टिङ ब्लड सुगर (एफबिएस), गामा ग्लुटामाइ ट्रान्सफरेस (गामा जिटी)लगायत परीक्षण हुनेछ। यस्तै लिपिड प्रोफाइल, क्रियाटिनीन, हेपाटाइटिस बी, एचआइभी, एन्टी एचसिभी र यूएसजी परीक्षण हुनेछ।

वडा २७ को कार्यक्रमका फोकल पर्सन मनिषा श्रेष्ठका अनुसार शरीरमा ब्याक्टेरिया वा भाइरसको सङ्क्रमण छ कि छैन भनेर थाहा पाउनका लागि कलेजो परीक्षण गरिन्छ। रगतमा हेमोग्लोबिन कम छ कि छैन हेरेर रक्तअल्पता थाहा पाउन, सेतो रक्त कोषिका (डब्लुिबसी)को मात्रा हेरेर रोग प्रतिरोधात्मक क्षमता थाहा पाउन, प्लेटलेट्सको मात्रा हेरेर रक्तस्राव वा क्लटिङ्गो समस्या पत्ता लगाउन, ल्यूकेमिया (रक्त क्यान्सर), एलर्जी आदि छ कि छैन थाहा पाउन र शरीर स्वस्थ्य छ कि छैन थाहा पाउन सिबिसी परीक्षण गरिन्छ।

कलेजोले ठिकसँग काम गरिरहेको छ, कि छैन, हेपाटाइटिस एबीसी छ, कि, फ्याटी लिभर वा सिरोसिस छ कि थाहा पाउन ‘एलएफटी’ परीक्षण हुन्छ। यस्तै आँखा, छाला पहेँलो हुनको कारण पीलियाको कारण बुझ्न, औषधिको असर जाँच गर्न, मद्यपानका कारण कलेजोमा परेको असर थाहा पाउन, कलेजोमा सङ्क्रमण छ कि छैन थाहा पाउन, कलेजो सुन्निएको छ कि छैन जान्नका लागि यो परीक्षण गर्नुपर्छ।

रगतमा चिनीको मात्रा पत्ता लगाउन, भविष्यमा मधुमेहको जोखिम छ कि छैन थाहा पाउन, औषधि वा इन्सुलिनको प्रभाव बुझेर पहिले नै भएको मधुमेहको प्रभाव बुझ्न, शरीरमा सुगर लेभल ठिक छ कि छैन थाहा पाउन एफबीएस परीक्षण गरिन्छ।

धेरै रक्सीको सेवनले जिजिटी बढ्छ। हेपाटाइटिस, फ्याटी लिभर, पित्त थैली र पित्त नलीको समस्याका कारण कलेजो सुन्निएको छ कि, रोग लागेको छ कि, बिग्रिएको छ कि, औषधिको असर थाहा पाउन गामा ग्लुटामाइल ट्रान्सफरेस (गामा जिटी) को परीक्षण गरिन्छ।

कोलेस्ट्रोल बढी भएर हृदयाघात र स्ट्रोकको खतरा थाहा पाउन, खराब र राम्रो प्रोफाइल जाँच गर्न, मोटोपना, मधुमेह, उच्च रक्तचापको अवस्था थाहा पाउन, औषधि र जीवनशैलीको असर अर्थात् डाइट, शारीरिक अभ्यास वा औषधिले स्वास्थ्यमा कति सुधार भयो भन्ने थाहा पाउन लिपिड प्रोफाइल जाँच हुन्छ। यसमा टोटल कोलेस्ट्रोल, ब्याड कोलेस्ट्रोल, गुड कोलेस्ट्रोल, ट्रिग्लीसिराइड्स जाँच हुन्छ।

मिर्गौलाले ठिकसँग काम गरिरहेको छ कि छैन, मिर्गौलामा जटिल रोग लागेको छ कि, किड्नी फेलियर हुँदै छ कि, मधुमेह वा उच्च रक्तचापले मिर्गौलामा असर गरेको छ कि, रगत छान्ने क्षमता कस्तो छ, भन्ने कुरा क्रियटिन जाँचबाट थाहा हुन्छ। यस्तै प्रयोग गरिरहेको औषधिले मिर्गौलामा असर गरेको छ कि थाहा पाउन यो जाँच गरिन्छ। रासस

प्रकाशित: ११ चैत २०८२ २१:१४ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast