काठमाडौँ- चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई तालिम कार्यक्रम एकसाथ सुरु गरेको छ।
बोर्डले आजबाट दुई दिने एआई फिल्म मेकिङ तालिम र १० दिने ड्रोन तालिम सुरु गरेको हो। दुवै कार्यक्रममा गरी १ सय ७६ जना सहभागी रहेकाे बाेर्डले जनाएकाे छ।
एआई तालिममा मात्र १५१ जना उपस्थिति रहेको थियाे। तालिमकाे शीर्षक ‘Cinematic AI: From Script to Screen with Artificial Intelligence’ रहेकाे छ।
तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर कथा लेखन, स्टोरीबोर्ड निर्माण, भिडियो उत्पादन तथा डिजिटल फिल्म निर्माणका आधुनिक प्रविधिहरूबारे प्रशिक्षण दिइनेछ।
करुण थापा, मौसम पुरीलगायतले तालिमकाे प्रशिक्षण दिनेछन्। तालिम नेपाल एआई फिल्म अलायन्स (NAIFA) को सहकार्यमा सञ्चालन भएको हाे।
१० दिने ड्रोन तालिम कार्यक्रममा २५ जना सहभागी चयन गरिएको छ। तालिममा भारतको वायुरगाथा ड्रोन कम्पनीका प्रशिक्षक मथिशर्मा जी, मणिभारथ वी र पार्थसारथी बीले प्रशिक्षण दिनेछन्।
नेपालका प्रशिक्षकमा प्रविन भट्टराई (ड्रोन हव नेपालका सञ्चालक तथा लुम्बिनी विश्वविद्यालयका ड्रोन विभाग प्रमुख), प्रभु एयरका पाइलट क्या पाल्देन शेर्पा, इन्स्पेक्टर रमेश शाह, आदर्श राज भुसाल र शाश्वत रिजाल लगायतको प्रशिक्षण रहनेछ।
मानवरहित विमान संघ (उडान) को सहकार्यमा आयोजना गरिएको ड्रोन तालिम कार्यक्रमको उद्घाटन समारोहमा उडानका अध्यक्ष राजभाई सुवाल तथा बोर्डका अध्यक्ष दिनेश डिसीलगायतको उपस्थिति थिए।
बोर्डका अनुसार यी कार्यक्रमहरूले नेपाली चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको छ।
बोर्डले पछिल्लो समय एआई, ड्रोन, साउन्ड र डिजिटल प्रविधिमा आधारित यस्ता तालिमहरू सञ्चालन गर्दै फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको जनाएको छ।




