विराट कोहलीको कीर्तिमान तोड्दै फरहान विश्वकपका शीर्ष स्कोरर

हिमाल प्रेस १८ फागुन २०८२ ११:०२ | Monday, March 2, 2026
12
SHARES
विराट कोहलीको कीर्तिमान तोड्दै फरहान विश्वकपका शीर्ष स्कोरर

काठमाडौँ- टी-२० विश्वकपअन्तर्गत सुपर-८ का खेलहरू सम्पन्न भइसकेका छन्। भारत, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र न्युजील्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने आयोजकमध्ये श्रीलंका सुपर-८ बाटै बाहिरिएको छ। यता पाकिस्तानले श्रीलंकाविरुद्ध ५ रनको रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा स्थान बनाउन सकेन।

पल्लेकेले क्रिकेट स्टेडियममा शनिबार सम्पन्न खेलमा पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। जवाफमा श्रीलंकाले ६ विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो। जितका बाबजुद आवश्यक नेट रनरेट र समीकरण पूरा नभएपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरियो।

यद्यपि यस खेलमा पाकिस्तानका ब्याटरहरूले कीर्तिमानी प्रदर्शन गरे। ओपनर साहिबजादा फरहानले ६० बलमा शानदार १०० रन बनाउँदै प्रतियोगितामा आफ्नो दोस्रो शतक पूरा गरे। यससँगै उनी एकै संस्करणमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बने। यसअघि उनले नामिबियाविरुद्ध पनि शतक बनाएका थिए। फरहानले ६ इनिङ्समा ३८३ रन जोड्दै विराट कोहलीको एक संस्करणमा सर्वाधिक ३१९ रनको कीर्तिमान तोडे।

फरहानले यस संस्करणमा १८ छक्का प्रहार गर्दै अर्को कीर्तिमान पनि बनाए। उनी एकै टी-२० विश्वकप संस्करणमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याटर बनेका छन्। उनले वेस्टइन्डिजका शिमरोन हेटमायरको १७ छक्काको रेकर्ड उछिनेका हुन्।

श्रीलंकाविरुद्ध फरहान र फखर जमानले पहिलो विकेटका लागि १७६ रनको विशाल साझेदारी गरे। यो टी-२० विश्वकप इतिहासकै कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो। यसअघि न्यूजील्यान्डका टिम सइफर्ट र फिन एलेनले १७५ रनको अविजित साझेदारी गरेका थिए।

फखर जमानले पनि उक्त खेलमा ४ छक्का प्रहार गर्दै अर्को उपलब्धि हासिल गरे। उनी टी-२० अन्तर्राष्ट्रियमा पाकिस्तानका लागि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। उनका नाम १२० खेलमा ९९ छक्का पुगेका छन् जसले मोहम्मद रिजवानको ९५ छक्काको कीर्तिमान उछिनेको छ।

प्रकाशित: १८ फागुन २०८२ ११:०२ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast