‘जलाकी’ बाट बाहिरिए धीरज, उपासनाको जोडी बने सोनम

हिमाल प्रेस ५ चैत २०८२ १२:४२ | Thursday, March 19, 2026
16
SHARES
‘जलाकी’ बाट बाहिरिए धीरज, उपासनाको जोडी बने सोनम

काठमाडौँ- फिल्म ‘जलाकी’ बाट अभिनेता धीरज मगर बाहिरिएका छन्। उनले निर्माण टिमसँग सल्लाह गरेर नै फिल्म छोडेको निर्देशक अशोक थापा मगरले बताए।

सुरुमा फिल्ममा मुख्य अभिनेताको रुपमा सोनम तोप्देन थिए। उनी अर्को फिल्म ‘ऐरी’ को छायांकन सेटमा एक्सन दृश्य खिच्दै गर्दा खुट्टा भाँचिएर थलिएपछि उनको भूमिकामा धीरजलाई लिइएको थियो।

धीरजले फिल्म छोडेपछि पुनः सोनम नै मुख्य भूमिकामा फर्किएको निर्देशक थापाले जानकारी दिए। ‘सोनम खुट्टा भाँचिएर थलिएपछि उनलाई विशेष भूमिकाको लागि राखेका थियौँ। धीरजले फिल्म नखेल्ने निर्णय गरे। टिमसँग सहमतिमै छुट्टिए,’ निर्देशक थापाले भने, ‘अहिले सोनम निको भइसकेका छन्, त्यसैले हामीले उहाँलाई नै मुख्य भूमिकामा लियौँ।’ निर्माण टिमले यसअघि धीरज र उपासनाको रोमान्टिक पोस्टर समेत सार्वजनिक गरेको थियो।

हाल कास्कीको विभिन्न ठाउँमा फिल्मकाे छायांकन भइरहेको छ। फिल्म रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने निर्देशक थापाले बताए। फिल्म तीन चरणमा छायांकन गर्ने उनको तयारी छ।

फिल्म मगर र गुरुङ समुदायको संस्कृतिमा आधारित छ। निर्माण टिमका अनुसार ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ। जसलाई त्रिकोणात्मक प्रेम कथामा देखाइनेछ।

फिल्ममा मुख्य अभिनेत्री उपासना सिंह ठकुरी छिन्। उनले निर्देशक अशोक थापा मगरसँग ‘खुस्मा’पछि दोस्रो पटक सहकार्य गरेकी हुन्। ‘खुस्मा’ बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन्।

फिल्ममा अन्य कलाकार शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) को अभिनय रहनेछ। निर्मातामा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्। एम मिडियाको ब्यानरमा निर्माण हुनेछ।

प्रकाशित: ५ चैत २०८२ १२:४२ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast