काठमाडौँ- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका विभिन्न सात जिल्लामा गरी ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा मात्रै २२६ जना उम्मेदवारले कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरूको धरौटी जफत भएको हो।
काठमाडौँ क्षेत्र नम्बर १ मा एमालेका मोहनराज रेग्मीसहित २६, क्षेत्र नम्बर २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुयाँलसहित १९ तथा क्षेत्र नम्बर ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको छ।
त्यसैगरी, क्षेत्र नम्बर ५ मा एमालेका ईश्वर पोखरेलसहित २२, क्षेत्र नम्बर ६ मा १७, क्षेत्र नम्बर ७ मा २६, क्षेत्र नम्बर ८ मा २१, क्षेत्र नम्बर ९ मा २२ र क्षेत्र नम्बर १० मा २३ जना उम्मेदवारको जमानत जफत भएको जनाइएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूले धरौटीबापत १० हजार रुपैयाँ निर्वाचन कार्यालयमा बुझाएका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।
यसैगरी कास्कीमा पनि उल्लेख्य सङ्ख्यामा उम्मेदवारको जमानत जफत भएको छ। कास्की-१ मा १४, कास्की-२ मा १४ र कास्की-३ मा १२ जना उम्मेदवारले आवश्यक मत नल्याउँदा धरौटी गुमाएका छन्।
दाङमा ५१ जना उम्मेदवारको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङ-१ मा नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरी, एमालेका रेवतीरमण शर्मा र स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीसहित १२ जनाको जमानत जफत भएको हो। दाङ-२ मा भने २० जना उम्मेदवारको धरौटी जफत भएको बताइएको छ।
इलाममा पनि १८ जना उम्मेदवारले जमानत जोगाउन सकेनन्। इलाम-१ मा १३ उम्मेदवारमध्ये आठ र इलाम-२ मा १४ उम्मेदवारमध्ये १० जनाको जमानत जफत भएको छ।
जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सीकेशरी प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेकपा (माओवादी) का नारदमणि साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार रहेका छन्।
यस्तै, रूपन्देहीमा १४३ जना उम्मेदवारको जमानत जफत भएको छ भने ललितपुरमा ६३ जना उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिएका छन्। ललितपुरमा जमानत जफत हुनेमध्ये ४० जना विभिन्न राजनीतिक दलका र २३ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।





