सांकेतिक तस्बिर।
काठमाडौँ- पछिल्लो समय मकवानपुरमा डेंगु संक्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना सङ्क्रमित भेटिएका छन्। सबैभन्दा बढी डेङ्गुबाट हेटौँडा उपमहानगरपालिका प्रभावित छन्।
हेटौँडामा १६९ जना, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा नौरनौ जना, बकैयाँ गाउँपालिकामा तीन जना, बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा दुईरदुई जना सङ्क्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए।
उनका अनुसार मकवानपुर राक्सीराङ गाउँपालिकामा पनि एक जना सङ्क्रमित भेटिएको छ। यस्तै मकवानपुरका ४८ जना स्क्रब टाइफसबाट पीडित भएका छन्। जसमध्ये हेटौँडामा मात्र २६ जना रहेको सूचना अधिकारी घिमिरेले बताए।
जिल्लामा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको छ।




