काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो। गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै र भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे। उनले दूरसञ्चार र ‘साइबर क्राइम’ लगायत क्षेत्रमा सहयोग र सहकार्य आवश्यक भएको बताए।
चिनियाँ राजदूतले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकारलाई धन्यवाद दिए। साथै उनले आपसी सम्बन्धलाई सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे।





