स्वास्थ्य मन्त्रालय
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा समन्वयका लागि सम्पर्क व्यक्ति तोकेको छ। निर्वाचन अवधिभर हुन सक्ने सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राखी स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) का कर्मचारीहरूलाई २४ सै घण्टा सम्पर्कमा रहने व्यवस्था मिलाइएको जनाएको छ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार केन्द्रीय स्तरमा बन्दना भट्ट, डा.नवराज जोशी, नरमाया रिजाल, विमला महर्जन, गोपाल पाण्डे र श्रीय सुबेदीलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ। एचईओसी प्रमुख डा. प्रकाश बुढाथोकी पनि समन्वयका लागि उपलब्ध रहने उल्लेख गरिएको छ।
सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका सम्पर्क व्यक्तिहरू पनि निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हेमराज जोशी, कर्णाली प्रदेशमा श्यामलाल आचार्य, लुम्बिनी प्रदेशमा नोधनारायण चौधरी, गण्डकी प्रदेशमा बुद्धिसागर अधिकारी, बागमती प्रदेशमा दिनेश रुपखेती, मधेश प्रदेशमा फुलेन्द्र यादव र कोशी प्रदेशमा डा। सव्यता पन्थीलाई सँपर्क व्यक्ति तोकिएको छ।
मन्त्रालयले निर्वाचनका दिन तथा त्यसअघिपछि हुन सक्ने आकस्मिक स्वास्थ्य समस्याको प्रभावकारी व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ पारिएको जनाएको छ।





