कांग्रेसको समीक्षा : मूल नीतिले जितेको छ, पार्टी पंक्ति हल्लिएको छैन

हिमाल प्रेस ६ चैत २०८२ १६:२२ | Friday, March 20, 2026
16
SHARES
कांग्रेसको समीक्षा : मूल नीतिले जितेको छ, पार्टी पंक्ति हल्लिएको छैन नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर : रासस

काठमाडौँ– हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ सिट जितेको नेपाली कांग्रेसले पार्टीले अपनाएको मूल नीतिको विजय भएको दाबी गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बैठकमा उपसभापति विश्वप्रकाश शर्माले यस्तो दाबी गरेका हुन्।

उनले बैठकमा पेस गरेको प्रारम्भिक समीक्षा पेस गर्दै भने, ‘नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा निर्वाचित बन्न सकेन। तर सन्तोष मान्नुपर्छ, कांग्रेसले अपनाएको मूल नीतिको विजय भएको छ। कांग्रेसले अंगीकार गरेको राजनीतिक र आर्थिक नीतिका पछिल्तिर पुराना नयाँ सबै दल उभिन आइपुगेका छन्।’

उनले नेपाली कांग्रेस दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार प्रतिपक्षी बनेको उनको समीक्षामा उल्लेख छ। पार्टीले प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्ने उपसभापतिले समीक्षामा उल्लेख गरेका छन्।

यसैगरी निर्वाचनमा पराजय भए पनि देशभर पार्टीपंक्ति नहल्लिएको उनको दाबी छ। शर्माले लेखेका छन्, ‘दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने ऊर्जा पार्टी सदस्यमा देखिएको छ। यो अत्यन्त सकारात्मक छ।’

शर्माले पार्टी पराजित भए पनि विशेष महाधिवेशनको औचित्य पुष्टि गर्न खोजेका छन्। विशेष महाधिवेशनमार्फत परिवर्तनको सन्देश लिएर नगएको भए चुनावमा अहिलेको भन्दा खराब अवस्था आउने दाबी उनको छ। ‘पराजय व्यहोरेको भए पनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आमपार्टी सदस्यको अव्यक्त मनोविज्ञान र व्यक्त धारणा पाइएको छ।’ यसैगरी परिवर्तनको सन्देशले पार्टी पंक्तिमा ऊर्जा भरिएका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको दाबी उनको छ।

विगतमा विशेष महाधिवेशन असहमत पक्षधर पनि अहिले पार्टी पछि फर्कन हुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पु¥याउनुपर्छ भन्ने भावना प्रबल देखिएको भनाइ शर्माको छ। उनले लेखेका छन्, ‘अब नयाँ ढंगले अघि बढेर कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुर्‍याउन हामीलाई समय मिलेको छ।’

शर्मा पार्टीकाे केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पनि हुन्।

प्रकाशित: ६ चैत २०८२ १६:२२ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast