काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई विभिन्न सात सुझाव दिएका छन्।
मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले रास्वपाको भावी सरकार सञ्चालन, सुशासन र राजनीतिक व्यवहारबारे सुझाव दिएका हुन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट प्राप्त गरेको रास्वपाले सरकार गठनको तयारी गरिरहेको सन्दर्भमा थापाले जेनजी पुस्ताको अपेक्षाअनुसार सरकार सञ्चालन गर्न सुझाव दिए। उनले पाँच वर्षसम्म सुशासन, सेवा प्रवाह र विकासलाई तीव्र बनाउने तर विवाद र राजनीतिक द्वन्द्वबाट टाढा रहन सुझाव दिएका छन्।
यस्तै, थापाले २०४६ सालपछि सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने, कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा गत भदाै २३ र २४ गतेका घटनासम्बन्धी दोषीमाथि कानुनी कारबाही अघि बढाउनुपर्ने सुझाव पनि थापाको छ।
थापाले सरकारको सकारात्मक कदममा समर्थन रहने तर कमजोरी र विवादास्पद निर्णयमा निरन्तर प्रश्न र खबरदारी गर्ने बताए।




