सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन गर्न रास्वपा सरकारलाई कांग्रेस सभापतिको सुझाव

हिमाल प्रेस १० चैत २०८२ १४:२२ | Tuesday, March 24, 2026
14
SHARES
सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन गर्न रास्वपा सरकारलाई कांग्रेस सभापतिको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा पहिलाे दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई  शुभकामना दिँदै २०४६ सालपछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन गर्न अब बन्ने सरकारलाई सुझाव दिएका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाले अबको पाँच वर्ष देशमा सुशासन र विकासलाई उल्लेखनीय रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरे।

थापाले प्रतिपक्षको भूमिकालाई अझ जिम्मेवार र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै भने, ‘सरकारसँग बढी शक्ति हुँदा प्रतिपक्षको भूमिका झनै महत्वपूर्ण हुन्छ।’

उनका अनुसार चुनावले कांग्रेसलाई प्रतिपक्षको भूमिका दिएको र त्यसलाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने आवश्यकता छ। उनले भने, ‘अबको पाँच वर्षमा नेपालमा सुशासन र विकास अहिलेको भन्दा धेरै गुणा बढ्नुपर्छ, त्यसलाई अघि बढाउने जिम्मेवारी रास्वपाले पाएको छ। त्यसमा कांग्रेसको पूर्ण साथ रहन्छ तर गति नपुगे प्रश्न पनि उठ्छ।’

थापाले आगामी पाँच वर्ष राजनीतिक अस्थिरता वा दुर्घटना नहोस् भन्नेमा सबै पक्ष सचेत हुनुपर्ने बताए। सुशासनका विषयमा बोल्दै उनले २०८२ अघिका सबै विषय टुंग्याउनुपर्ने आवश्यकता औंल्याए। उनले थपे, ‘२०४६ सालपछि सरकारमा बसेका र सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ। गैरकानुनी सम्पत्ति भेटिए जफत गर्नुपर्छ।’

प्रकाशित: १० चैत २०८२ १४:२२ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast