राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत चाङको भेट

हिमाल प्रेस २ चैत २०८२ १५:५९ | Monday, March 16, 2026
10
SHARES
राष्ट्रियसभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूत चाङको भेट

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

राजदूत चाङले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।

भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो।

अध्यक्ष दाहालले नवनियुक्त राजदूत चाङको कार्यकालमा नेपाल–चीन सम्बन्ध थप घनिष्ट हुने र उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

नेपाल र चीनबीचको सम्बन्ध वर्षौँ पुरानो भएको चर्चा गर्दै उनले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए।

फागुन २१ गते नेपालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोग सरहानीय रहेको उल्लेख गरे।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै उनले आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तअनुसार नै अगाडि बढ्ने बताए।

बीआरआईलगायत दुई देशबीच विभिन्न समयमा भएका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुनेमा विश्वास लिएको भन्दै अध्यक्ष दाहालले यसले दुई देशको सम्बन्ध थप मजबुत र बलियो हुनेमा जोड दिए।

राजदूत चाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए।

उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

बीआरईलगायत चीन–नेपालबीच भएका सम्झौताहरू छिटो अगाडि बढाउनसके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको उनले बताए।

प्रकाशित: २ चैत २०८२ १५:५९ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast