काठमाडौँ- स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ। दोस्रो लेगमा २-१ को जित निकालेको रियल समग्रमा ५-१ को जितले अन्तिम आठमा पुग्यो। पहिले लेगमा रियल ३-० गोलले पराजित गरेको थियो।
सिटीको मैदानमा भएको खेलमा सिटीका कप्तान बर्नाडो सिल्भाले गोललाइनमा ह्याण्डबल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिनु पर्यो। सिल्भाको सोही गल्तीमा पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गरे। भिनिसियसले नै खेलको अन्त्यतिर व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे। सिटीका लागि अर्लिङ हालान्डले एक गोल फर्काए पनि त्यो पुनरागमनका लागि पर्याप्त भएन। रियलले सिटीको घरेलु मैदान इतिहाडमा सनसनीपूर्ण जित निकाल्यो।
चेल्सीले आफ्नो युरोपेली इतिहासकै एक खराब पराजय बेहोरेको छ। घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा पिएसजीसँग ३-० ले पराजित भएसँगै चेल्सी समग्रमा ८-२ को फराकिलो अन्तरले प्रतियोगिताबाट बाहिरिएको हो। पीएसजीका लागि खुविचा क्वाटारस्खेलियाले छैटौँ मिनेटमै गोलको खाता खोलेका थिए। त्यसपछि ब्राड्ली बारकोला र सब्सिच्युट खेलाडी सेनी मायुलुले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए। खराब प्रदर्शनपछि चेल्सीका समर्थकहरूले वर्तमान मालिकविरुद्ध नाराबाजी गर्दै पूर्व मालिक रोमन अब्रामोविचको नाम पुकारेका थिए।
इबेरेची एजे र डिक्लेन राइसको गोलको मद्दतले आर्सनलले बायर लेभरकुजेनलाई २-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा आर्सनलले पूर्ण नियन्त्रण जमाउँदै समग्रमा ३-१ को जित निकाल्यो। अब आर्सनलले क्वार्टरफाइनलमा पोर्चुगिज क्लब स्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ।
पोर्चुगिज टोली स्पोटिङले च्याम्पियन्स लिगमा निकै दुर्लभ र ऐतिहासिक पुनरागमन गरेको छ। पहिलो लेगमा ३-० ले पछि परेको स्पोटिङले दोस्रो लेगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै अतिरिक्त समयमा जित निकाल्यो। बोडोरग्लिम्टको लोभलाग्दो यात्रालाई पूर्णविराम लगाउँदै स्पोटिङले समग्रमा ५-३ को नतिजासहित अन्तिम आठमा स्थान बनायो।




