चैत्र शुक्ल दशमी : सेतो मच्छिन्द्रनाथको रथ लगनमा

हिमाल प्रेस १५ चैत २०८२ ९:०६ | Sunday, March 29, 2026
2
SHARE
चैत्र शुक्ल दशमी : सेतो मच्छिन्द्रनाथको रथ लगनमा

काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ शनिबार लगन पुर्‍याइएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पुर्‍याउने गरिन्छ। रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ।

रथ लगन पुर्‍याए पनि साँझ परेकाले शनिबार सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याएको सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्व वडा अध्यक्षसमेत रहेका नीलकाजी शाक्यले राससलाई जानकारी दिए। लगनमा सेतो मच्छिन्द्रनाथको माताको मन्दिर छ।

रथयात्राको तेस्रो दिन आइतबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो। तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरी मार्ग निर्धारण गरिएको छ।

रथयात्रा पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्‍याउने गरिन्छ। रथयात्रामा हजारौँको सहभागिता जुटेको छ। रथयात्राका लागि बिहीबार दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्ग स्थित तीनधारा पाठशालाअघि लगिएको थियो। बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ। रथ निर्माणका लागि काठ लगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ। आइतबार लगनमा माताको मन्दिर दुई पटक घुमाएर मच्छेन्द्रबहालमा ल्याएसँगै जात्रा समापन हुन्छ। काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथ यात्रापछि नै ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने गरेको छ। रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast