काठमाडौँ- चर्चित र्यापर बालेन्द्र शाह ‘बालेन’ आज देशकाे प्रधानमन्त्री बनेका छन्। उनले प्रधानमन्त्रीको शपथ ग्रहण गरेसँगै सम्पूर्ण देशभर खुसी छाएको छ।
जनताको सपना साकार भएको भन्दै सबैले उनलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।
एक र्याप गायक जो काठमाडौँ महानगरपालिकाको मेयर हुँदै छोटो समयमै देशकै प्रधानमन्त्री बनेपछि नेपाली कला क्षेत्रमा अझ धेरै खुसी फैलिएको छ। हिपहप कलाकार, संगीतकर्मी, गायकगायिका, फिल्मकर्मी, साहित्यकार सबैले बधाई दिएका छन्।
उनीहरूले बालेन सरकारबाट अब देशको मुहार फेरिने आशा गरेका छन्। साथै मतदाताको भावनाअनुरुप काम गर्न आग्रह समेत गरेका छन्।
र्यापर लाउरे (आशिष राना) ले महानगरदेखि देशसम्म बालेको यात्रालाई सम्झिँदै बधाई दिएका छन्, उनले लेखेका छन्, ‘महानगरबाट देशसम्म। आज जनताको सपना प्रधानमन्त्रीको कुर्सीसम्म पुगेको छ। नव प्रधानमन्त्री बालेन्द्र शाहज्यू लगायत सम्पूर्ण नव माननीय मन्त्रीज्यूहरूमा हार्दिक बधाई।’
गायक, संगीतकार तथा कलाकार प्रकाश सपुतले अन्ततः बालेन सरकार भन्दै नयाँ समयको सुरुवात भन्दै बालेनसँग खिचेको आफनो तस्बिर सेयर गरेका छन्। ‘अन्ततः बालेन सरकार। २०८३ चैत्र १३। नयाँ समयको सुरुवात।’
प्रकाश रास्वपाको समानुपातिक उम्मेदवारबाट राजनीतिमा होमिएका थिए तर उनी सांसद बन्न सकेनन्। तथापि चुनाव प्रचारमा उनी खटिएका थिए।
फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतले नेपाल हाँसेको र नेपालीहरू खुसीले बाँचेको हेर्न चाहेको बताएका छन्। ‘म नेपाल हाँसेको हेर्न चाहन्छु। नेपाली खुसीले बाँचेको हेर्न चाहन्छु।’ यो बालेनकै गीतको टुक्का हो। निश्चल बालेन निकटका कलाकार मानिन्छन्।
कमेडी च्याम्पियन्सका निर्देशक विशाल भण्डारीले मतदाताको भावना अनुरुप काम गरेर देशको मुहार फेर्नु होला भन्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
जनताले चाहेको प्रधानमन्त्री र प्रधानमन्त्रीले चाहेको मन्त्री सहितको मन्त्रीमण्डल। उनले लेखेका छन्, मतदाताको भावना अनुरुप काम गरेर देशको मुहार फेर्नु होला। नव नियुत्त प्रधानमन्त्री र मन्त्रीहरुलाई सफल कार्यकालको शुभकामना!’
अभिनेत्री तथा फिल्म निर्देशक रेखा थापाले भने बालेनलाई ऐतिहासिक कार्यकालको शुभकामना दिएकी छिन्। उनले बालेनलाई लाखौँ नेपाली जनताको विश्वास, भरोसा र आशाको केन्द्र भनेकी छन्।
‘लाखौं नेपाली जनताको विश्वास, भरोसा र आशाको प्रतिनिधित्व गर्दै मुलुक रुपान्तरणको अभिभारा उठाउँदै गर्नुभएका सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई सफल र एतिहासिक कार्यकालको शुभकामना!’
अभिनेत्री नीति शाहले बालेनको फोटो र नयाँ मन्त्रीहरूको नामावलीसहित बधाई दिएकी छन्। सुहाना थापले सपथको भिडियो नै सेयर गरेकी छिन्।
नयाँ जिम्मेवारी पाएकासम्पूर्णलाई बधाई दिँदै अभिनेत्री वर्षा राउतले देशको फेरिएको परिवेश भन्दै देश राम्रो हुनेमा आशावादी रहेको बताएकी छन्। ‘मेरो देशको फेरिएको परिवेश। म एकदम आशावादी छु, अब देश पक्कै राम्रो हुने छ। नयाँ जिम्मेवारी प्राप्त गर्ने सम्पूर्णलाई हार्दिक बधाई अनि शुभकामना!’ उनले लेखेकी छन्।
गायिका रचना रिमालले लेखेकी छन्। ‘नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दादालाई हार्दिक बधाई। यो देशलाई तपाईंप्रति धेरै आशा र भरोसा छ। हामी सबैलाई शुभकामना!’
त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्य, हास्य कलाकार मनोज गजुरेल, सन्दीप क्षेत्री, फिल्म निर्देशक छविराज ओझा, कलाकार नीति शाह, सरिता गिरीलगायत थुप्रै कलाकारले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।




