राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

हिमाल प्रेस ५ चैत २०८२ १६:०५ | Thursday, March 19, 2026
20
SHARES
राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अभिनेता राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार भएको पाइएको छ। हमाल अभिनित फिल्ममा लगानी गर्ने भन्दै  भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अछामको ढकारी गाउँपालिकाले हमालको फिल्म बनाउने भन्दै १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उक्त गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आर.जे. २४ न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।

रामजी लम्साल फिल्मका निर्माता हुन्। सार्वजनिक खरिदसम्बन्धी कानुनविपरीत पालिकाको बजेट दुरुपयोग गरी फिल्म ‘अन्धपथ’ निर्माण गर्न १८ भदौ २०८१ मा सम्झौंता गरेको भेटिएको आयोगले जनाएको छ।

आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई फिल्म निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। त्यसमध्ये १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ भुक्तानी गरिएको पाइएको आयोगले उल्लेख गरेकाे छ।

फिल्म बनाउन भन्दै पेस गरिएको बिलहरू पनि नक्कली रहेको र कामै नगरी सरकारी रकम हिनामिना गर्न मिलेमतोमा योजनाबद्ध रूपमा भ्रष्टाचार गरिएको पाइएको अख्तियारले बताएको छ।

यसले सार्वजनिक खरिद ऐन र नियमावली उल्लंघन भएको भन्दै अख्तियारले गाउँपालिका प्रमुखविरुद्ध भ्रष्टाचार भएको रकम बराबरको बिगो र थप सजाय पनि माग गरेको छ।

प्रकाशित: ५ चैत २०८२ १६:०५ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast