ऊर्जा क्षेत्र विकासको जिम्मेवारी विराजभक्तलाई

हिमाल प्रेस १३ चैत २०८२ १३:५३ | Friday, March 27, 2026
76
SHARES
ऊर्जा क्षेत्र विकासको जिम्मेवारी विराजभक्तलाई विराजभक्त श्रेष्ठ।

काठमाडौँ- बालेन्द्र साह (बालेन) सरकारको १५ सदस्यीय मन्त्रिपरिषद्‌मा दोस्रोपल्ट मन्त्री पदको जिम्मेवारी पाएका व्यक्ति हुन् विराजभक्त श्रेष्ठ। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ  मन्त्रालयको जिम्मेवारी पाएका छन्।

श्रेष्ठ फागुन २१ को चुनावमा काठमाडौँ-८ बाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन्। काठमाडौँ इन्द्रचोक क्षेत्रका रैथाने श्रेष्ठ प्रदेशसभाबाट राजनीतिमा उदाएका हुन्। २०७४ मा बागमती प्रदेश सभाका सदस्य बनेर उनले प्रदेशमा विधायिका, नीति निर्माण र प्रादेशिक शासनको व्यावहारिक अनुभव प्राप्त गरेका थिए।

श्रेष्ठ २०७९ सालको आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँ-८ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनले त्यति बेला रास्वपा संसदीय दलका उपनेता थिए।

चैत २०८० देखि साउन २०८१ सम्म युवा तथा खेलकुदमन्त्रीका रूपमा उनले देखिनेभन्दा टिक्ने कामलाई प्राथमिकता दिए। त्यो कार्यकालको स्मरण गर्दै उनी भन्छन्, ‘छोटो कार्यकाल भए पनि युवालाई राज्यको बोझ होइन, राष्ट्र निर्माणको सक्रिय साझेदारका रूपमा स्थापित गर्ने उद्देश्यसहित युवा नीति निर्माणमा जोड दिएको थिएँ।’

खेलकुद क्षेत्रमा उनले सरकार, निजी क्षेत्र र खेलकुद संस्थाबीचको सहकार्य बिना दिगो प्रगति सम्भव नहुने स्पष्ट धारणा राख्दै पारदर्शी र नतिजामुखी व्यवस्थापनको वकालत गरेका थिए।

श्रेष्ठ साढे २ दशकभन्दा बढी समयदेखि समाजसेवा र राजनीतिमा अनवरत सक्रिय रहँदै आएका छन्। उनी सांस्कृतिक अर्थतन्त्रका पक्षमा वकालत गर्दै आएका जनप्रतिनिधि हुन्।

श्रेष्ठले काठमाडौँको सांस्कृतिक पहिचान र सम्पदा संरक्षणमा विभिन्न अभियानको अगुवाइ गरेका थिए भने सांसद हुँदा पनि उनी सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्धनमा आवाज उठाइरहन्थे। प्रदेश सांसद हुँदा उनले वातावरण संरक्षण र नागरिक अधिकारको वकालत गरेका थिए।

श्रेष्ठ भ्रष्टाचार निवारण, सुशासन र सार्वजनिक सरोकारका मुद्दामा खरो उत्रने जनप्रतिनिधि हुन्। उनले भन्ने गरेका छन्, ‘भ्रष्टाचारविरुद्ध र यसलाई रोक्नका लागि बलियो कानुनी ढाँचाको आवश्यकता छ। भ्रष्टाचार निवारण, सुशासन र सार्वजनिक सरोकारका मुद्दा नै मेरा प्रमुख विषय हुन्।’ यसैगरी युवा केन्द्रित र प्रविधिमैत्री राजनीति, पारदर्शी र जबाफदेही शासन व्यवस्था भए मात्र परिवर्तनको अनुभव हुने उनी बताउँछन्।

श्रेष्ठले देशको आर्थिक विकासको कथामा मध्यमवर्गीय परिवारलाई संलग्न गराउनुको महत्त्वमा जोड दिँदै आएका छन्। वैकल्पिक राजनीतिका सफल र जुझारु व्यक्तित्वका रूपमा चिनिएका श्रेष्ठ स्पष्ट वक्ता र सुसंस्कृत राजनीतिका अभ्यासकर्ता हुन्।

उनले भन्ने गरेका छन्, ‘मूल्यमान्यतामा आधारित सुसंस्कृत राजनीति नेपालको वर्तमान राजनीतिक संकटको निकास हो। युवापुस्ताको चेतना र प्रश्नलाई लोकतन्त्रको शक्ति मानेर सुन्ने संस्कार विकास गर्दै दीर्घकालीन दृष्टिकोणसहित अघि बढे मात्र लोकतन्त्र बलियो र राजनीति पुनः जनताको भरोसाको आधार बन्न सक्छ।’

प्रकाशित: १३ चैत २०८२ १३:५३ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast