कुनै पनि अभियानको सफलताको कथा लेखिँदा अक्सर चमकधमकपूर्ण दृश्यहरू मात्र अगाडि आउँछन्। तर, त्यो सफलताको जग बसाल्न कतिपय मानिसहरूले आफ्नो करिअर, सुख-सुविधा र व्यक्तिगत महत्वाकांक्षालाई तिलान्जली दिएका हुन्छन्। म्यानमारका लागि नेपालका पूर्वराजदूत एवं संयुक्त राष्ट्रसंघका पूर्वअधिकारी भिम उदास पनि एनआरएनभित्रका त्यस्तै पात्र हुन्। उनी, डा. उपेन्द्र महतो, जीवा लामिछाने, रामप्रताप थपालगायतले सँगै रहेर गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई केवल एउटा संस्था मात्र बनाएनन्, यसलाई विश्वभरका नेपालीलाई जोड्ने एउटा ‘भावनात्मक सेतु’ मा परिणत गरे।
उनको गत साता सार्वजनिक भएको कृति ‘विदेशमा नेपाल खोज्दै: मेरो एनआरएन यात्रा’ ले संस्थाको जन्मकुण्डली मात्र खोतल्दैन, बरु एउटा निष्ठावान् अभियन्ताको मनभित्र गुम्सिएका केही मीठा र केही तीता अनुभवहरूलाई उजागर गर्छ। उनी एनआरएनको सुत्रधार मध्ये एक हुन भन्ने विषय यही पुस्तकबाट अधिकले थाहा पाउँछन्। यसमा उनका गुनासा पनि छन्, जुन कुरा विमोचन कार्यक्रममा पुस्तकमाथि टीप्पणी गर्दै साहित्यकार कृष्ण धारावासीले बाहिर ल्याइदिए।
गैरआवासीय नेपाली संघ को जग आजका जस्ता विलासी होटलका सुइटहरू वा तामझामपूर्ण सम्मेलनहरूमा ठोकिएको थिएन। यसको भ्रूण त मस्कोको ठिहिर्याउने चिसो कोठा, लन्डनका साँघुरा गल्ली र काठमाडौँका प्रशासनिक अड्डाका ढोकाहरूमा ठोकिएर बुनिएको थियो। यही कथा यो पुस्तकमा छ। भिम उदासले पुस्तकमा त्यो ‘स्थापनाकालीन हुटहुटी’ लाई बडो मार्मिक ढंगले उतारेको उनका समकक्षीहरुले नै सुनाए।
यो केवल एउटा संस्थाको इतिहास होइन, यो त एउटा मान्छेले आफ्नो अस्तित्वभित्र देश खोज्दाखोज्दै विश्वभरिका नेपालीलाई एउटै सूत्रमा बाँध्न गरेको अठोट हो। लेखकले अर्मेनियाको भोकमरी र विदेशमा रहेका अर्मेनियायीहरूको सहयोगबाट देशले पाएको माया देखिरहँदा आफ्नो देशको अभावलाई सम्झनु, त्यो नै यो पुस्तक र एनआरएएनको प्रस्थानविन्दु हो। यो कुनै संयोगमात्र थिएन, एउटा संकल्पले मूर्तरूप लिन खोजिरहेको बेला मस्कोको त्यो ठिहिर्याउने चिसोमा भीम उदासले नेपाली मनहरुको न्यानोपन पाएका थिए।
डब्लुएफपीको वरिष्ठ संयोजक भएर मस्को पुगेका उदासले दसैँको अवसरमा नेपालीहरूलाई जुटाएर एउटा राष्ट्रिय भावनाको ‘पुनर्जन्म’ गराएका थिए। विगतका झगडाहरुलाई विस्थापित गर्दै जब नेपालीहरू आपसमा अंकमाल गर्न थाले, त्यहीँबाट एनआरएनको भ्रूण तयार भएको कथा पुस्तकमा छ।
उनले त्यतिबेला राष्ट्रसंघीय मर्यादामा रहेर पनि डा.उपेन्द्र महतो, जीवा लामिछाने, रामप्रताप थापा जस्ता व्यक्तित्वहरूलाई एकै स्थानमा ल्याएर एउटा अदृश्य संगठनकर्ताको भूमिका निर्वाह गरेको पुस्तकमा पढ्न पाइन्छ। ‘नेपालका लागि केही गरौँ’ भन्ने एउटा पवित्र संकल्प मात्र थियो, त्योबेला, साधन थिएन, तर साध्य स्पष्ट रहेको थियो। त्यो समयको संघर्ष भनेकै मान्छेको मनमा विश्वास जगाउनु थियो–कि हामी परदेशी भएर पनि स्वदेशी हुन सक्छौँ।
डा. महतो, लामिछाने, थापा जस्ता व्यक्तित्वहरूले जब ‘नेपालका लागि केही गरौँ’ भन्ने संकल्प गरे, त्यतिबेला उनीहरूसँग कुनै व्यक्तिगत स्वार्थ थिएन। ‘त्यो समयमा एनआरएन हुनुको अर्थ पद पाउनु थिएन, बरु ‘स्व’ लाई विसर्जन गरेर ‘पर’ को सेवा गर्ने एउटा निष्काम कर्म थियो,’ उदासले पुस्तकमा पस्केका छन्। मस्कोको चिसोमा हुर्किएको त्यो नेपाली मनको न्यानोपन आज एकसय भन्दा बढी मुलुकमा अभियान झैँ फैलिएको छ।

डायस्पोरा: पलायन कि नेपालको विस्तार?
हाम्रो समाजमा विदेश जानुलाई अक्सर ‘पलायन’ वा ‘ब्रेन ड्रेन’ को नकारात्मक संज्ञा दिइन्छ। तर, उदासले यस भाष्यलाई निकै दार्शनिक ढङ्गले चुनौती दिएका छन्। उनका नजरमा यो पलायन होइन, बरु ‘नेपालको विस्तार’ हो। नेपालीहरु विदेशमा पुगेर नै केही सिकेका छन्। उच्चशिक्षा लिएका छन् र मुलुक बनाउने हुटहुटीमा लागेका छन्।
म्यान्मारको कुनामा बसेर नेपाली भाषा जोगाउनेहरू हुन् वा अफ्रिकाको मरुभूमिमा बसेर दसैँको जमरा सम्झने नेपाली- भूगोलले तिनलाई छुट्ट्याए पनि भावनाले सधैँ जोडिरहेको हुन्छ। पुस्तकले एउटा गम्भीर कुटनीतिक प्रश्न उठाएको छ- ‘के राज्यले आफ्ना यी ‘विस्तारित नेपाली’ लाई मनैदेखि स्वीकार्न सकेको छ?’ नागरिकताको निरन्तरता र प्रवासी नेपालीको अधिकारका लागि गरिएका पैरवीहरू यस कृतिका वैचारिक खम्बाहरू हुन्।
यस सन्दर्भमा धरावासी जस्ता साहित्यकारहरूले पनि प्रवासी नेपालीको यो ‘अस्तित्वको खोज’ लाई नेपाली साहित्यको एक महत्त्वपूर्ण पाटो मानेका छन्। कैयन नेपालीहरु यससंघमा जोडिन नआएको र चरम गुटबन्दी भएको विषय उनले उठाएका छन्। सरकारले ‘ब्रेन गेन’ गर्ने भनेर त्यसमा पहल गरे पनि त्यसले पनि सार्थकता पाउन नसकेको पाटो पुस्तकमा अनुभव गर्न सकिन्छ।
अझै पनि कैयन गैर आवासीय नेपालीहरु यो संगठनमा जोडिएका छैनन्। एउट वौद्धिक तप्काबाहिर नै रहेको कुरा पनि यसमा बुझ्न सकिन्छ। पुस्तकमा सूचना भए पनि कैयन पाटाहरु दोहोरिएका छन्। अनि पुस्तकले सूचना दिएको छ, तर यसपछि के होला कसरी जाला भन्ने खुल्दुलीलाई प्रस्ष पार्न सकेको छैन। कतिपय नाम तिथि मिति पनि बिग्रेका छन् अर्को संस्करणमा सुधार होला सायद।
राष्ट्रसंघदेखि एनआरएनको भ्रूण र राजदूतसम्म
भिम उदासको परिचय केवल एनआरएनमा मात्र सीमित छैन। उनले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा रहेर दशकौँसम्म विश्वका विभिन्न द्वन्द्वग्रस्त र संकटग्रस्त क्षेत्रमा काम गरे। मस्कोको चिसोदेखि अफ्रिकाका दुर्गम बस्तीसम्म पुग्दा उनले एउटा कुरा सधैँ महसुस गरे— ‘मान्छे जहाँ पुगे पनि उसको परिचयको अन्तिम विन्दु आफ्नै माटो हुन्छ।’
त्यही अनुभवले उनलाई विदेशमा रहेका नेपालीहरूलाई संगठित गर्ने प्रेरणा दियो। सन् २००३ मा जब एनआरएनको अवधारणा आयो, त्यतिबेला उदासले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल र कूटनीतिक कौशललाई यस अभियानको जग बसाल्न प्रयोग गरे। आज एनआरएन जुन उचाइमा छ, त्यसको जगमा उदासको संयुक्त राष्ट्रसंघीय कार्यशैली र कूटनीतिक परिपक्वताको ठूलो हिस्सा छ। उपेन्द्र महतो र जीवा लामिछानेसँगको त्यो आत्मीय ‘केमिस्ट्री’ले पनि एनआरएनको इतिहास सवल भएको हो।
त्यो इतिहास लेखिँदा डा. उपेन्द्र महतो र जीवा लामिछानेको नाम अग्रपंक्तिमा आउँछ। भिम उदासले यी व्यक्तित्वहरूसँगको आफ्नो सम्बन्धलाई पुस्तकमा निकै सम्मानजनक र आत्मीय ढंगले प्रस्तुत गरेका छन्। मस्कोमा रहँदा होस् वा अभियानको सुरुवाती दिनमा काठमाडौंका सरकारी कार्यालय धाउँदा, यी तीनै जनाको ‘केमिस्ट्री’ लोभलाग्दो थियो।
डा. महतोको दुरदृष्टि र आर्थिक सवलता, जीवा लामिछानेको वैचारिक स्पष्टता र भिम उदासको कूटनीतिक व्यवस्थापन – यी तीन तत्वको सम्मिश्रण नै एनआरएनको ‘गोल्डेन इरा’ (स्वर्ण युग) थियो। उदासले पुस्तकमा उल्लेख गरेझैँ, उनीहरू बीचको सम्बन्ध केवल पदका लागि थिएन, बरु नेपालको समृद्धिका लागि विदेशमा रहेका नेपालीको सीप र पूँजी कसरी भित्र्याउने भन्ने उद्देश्यका लागि थियो।
राष्ट्रसंघको सेवाबाट निवृत्त भएपछि भिम उदासले नेपालमा आएर पनि उनले राष्ट्रसंघमा जागिर खाएर फर्केकाहरुको समूह बनाउन अग्रणी भूमिका खेले। त्यही क्रममा उनी म्यानमारका लागि नेपाली राजदूत पनि बने। उनले राजदूतकाे रूपमा जिम्मेवारी राम्रै सम्हाले। म्यानमार, जहाँ लाखौँ नेपाली मूलका मानिसहरू बसोबास गर्छन्, त्यहाँ उदासले जुन आत्मीयता प्रदर्शन गरे, त्यसले उनलाई ‘म्यानमारमा रहेका नेपाली भाषीको राजदूत’ बनायो।
उनले त्यहाँ रहँदा केवल दुई देशको सम्बन्ध मात्र सुधारेनन्, बरु म्यानमारमा रहेका नेपालीहरूमा आफ्नो पुर्ख्यौली माटोप्रतिको माया जगाउने काम गरे। लुम्बिनीको प्रबर्द्धनमा उनी जुटे। उनले त्यहाँ रहँदा पनि गैर आवासीय नेपालीको मनलाई नेपालसँग जोडेर नेपालमा केही गर्न पर्ने कुरामा जोड दिएको विषय पुस्तकमा छ। उनले आफू सरकारी अधिकारी रहेकाबेला राजनीतिक व्यक्तिसँग गरेको सहकार्यका विभिन्न अयामबारे पुस्तकमा चर्चा गरेका छन्।
अबधारणा कोरे नेतृत्व पाएनन्
हरेक मान्छेका केही अधुरा सपना हुन्छन्। भिम उदासको हकमा पनि एउटा यस्तै मधुरो गुनासो पुस्तकका पानाहरूमा कतै न कतै झल्किएको देखिन्छ। एनआरएनको जग बसाल्ने, विधान लेख्ने र विश्वभर यसलाई विस्तार गर्ने मुख्य कालिगढ भएर पनि उनले कहिल्यै यो संस्थाको ‘सर्वोच्च नेतृत्व’ (अध्यक्ष) सम्हाल्न पाएनन्।
संस्थाभित्र बढ्दै गएको आर्थिक हालीमुहाली र पछिल्लो समय मौलाएको ‘चेकबुक पोलिटिक्स’ प्रति उनले सांकेतिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। स्थापनाकालीन समयमा आफूले बोकेको निस्वार्थ सेवाको भावना र अहिलेको नेतृत्व हत्याउने होडबाजीबीचको भिन्नताले उनलाई कताकता चसक्क पारेको अनुभूति पाठकले गर्न सक्छन्।
‘संस्थालाई रगत र पसिना दिनेहरू छायाँमा पर्ने र पैसाको बलमा नेतृत्वमा पुग्ने’ प्रवृत्तिको उनले गरेको चिरफार निकै साहसिक छ। आज एनआरएनमा देखिएको दलीय राजनीति र चरम गुटबन्दीले भिम उदास जस्ता संस्थापक अभियन्ताहरूलाई मर्माहत बनाएको छ। उनले पुस्तक मार्फत एउटा बलियो सन्देश दिएका छन्— ‘एनआरएन एउटा साझा चौतारी हो, यो कुनै राजनीतिक दलको भ्रातृ संगठन वा निश्चित धनाढ्यहरूको क्लब बन्नु हुँदैन।’
साउदी र मलेसियाको खाडीमा पसिना बगाउने श्रमिकको मुद्दा हराउँदै गएको र केवल ‘शक्ति केन्द्र’ सँग नजिक हुने होड चलेकोमा उनको गहिरो विमति छ। हरेक ठूला अभियानहरू समयक्रममा संस्थागत हुँदै जाँदा कतिपय ‘परजीवी’ प्रवृत्तिहरू पनि भित्रिन्छन्। लेखक उदासले निकै गम्भीरताका साथ एनआरएनभित्र मौलाउँदै गएको ‘शक्ति केन्द्र’ को राजनीतिका बारेमा चर्चा गरेका छन्।
अहिले एनआरएनमा देखिएको अस्वस्थ चुनावी प्रतिस्पर्धा, करोडौँको खर्च र राजनीतिक दलहरूको प्रत्यक्ष छायाँले संस्थाको मौलिक सुगन्ध हराउँदै गएकोमा उनी चिन्तित देखिन्छन्। ‘जब संस्थामा ‘म’ भन्दा ‘हामी’ कमजोर हुन्छ र ‘आदर्श’ को ठाउँ ‘स्वार्थ’ ले लिन्छ, तब त्यो संस्थाको पतन सुरु हुन्छ,’ उनले पुस्तकमा मार्मिक तवरले प्रस्तुत गरेका छन्।
पदका लागि गरिने छिनाझपटीले संस्थालाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको तिक्त यथार्थलाई उनले पुस्तकमा कुनै मोलाहिजा नगरी उतारेका छन्। यो एक प्रकारको ‘ब्युँझाउने घण्टी’ हो, जसले नेतृत्वलाई पुन: स्थापनाकालीन मूल्य र मान्यतामा फर्कन आग्रह गर्छ।
साक्षी र मार्गदर्शक
भिम उदासको ‘विदेशमा नेपाल खोज्दै’ पुस्तक केवल उनको आत्मकथामात्र होइन, यो एनआरएनको एउटा ‘ऐना’ हो। यसले विगतको त्याग र त्यो क्षण सम्झाएको छ नै, वर्तमानको विकृति पनि देखाएको छ। यो पुस्तकले भविष्यका लागि सुधारको बाटो पनि देखाएको छ।
राजदूतका रूपमा कूटनीतिको मर्म बुझेका र संयुक्त राष्ट्रसंघमा रहेर मानवता देखाएका उदासका अनुभवहरूले यो पुस्तकलाई एउटा जीवन्त दस्ताबेज बनाएको छ। एनआरएनले आफ्नो साख जोगाउने हो भने उदासले औँल्याएका यी आदर्श र मूल्यहरूलाई पुन: जीवित गर्नैपर्छ। संसार एक ठूलो रंगमञ्च हो जहाँ उदास नेपाली माटो बोकेका एक पात्र हुन्।
साहित्यकार धरावासीकै शब्दमा भन्दा – यो पुस्तक केवल गैरआवासीय नेपालीका लागि मात्र होइन, बरु देश र देशबाहिरको सम्बन्धलाई मानवीय, कुटनीतिक र आर्थिक लेन्सबाट हेर्न चाहने हरेक पाठकका लागि एउटा जीवन्त दस्ताबेज हो। उनले यसमा भनेका छन्, ‘यात्रा अझै सकिएको छैन, बरु यसले नयाँ पुस्तालाई आफ्नो पहिचान र मातृभूमिप्रतिको दायित्व सम्झाउँदै अघि बढ्न प्रेरित गर्दछ।’
एनआरएनलाई फेरि ‘पवित्र मन्दिर’ बनाउन सकिने बताउँदै पदलोलुपताको अन्त्य र सेवाको सुरुवात यो पुस्तकले दिन खोजेको निश्कर्ष हो। अर्मेनियाको सुख्खा माटोमा उभिएर लेखकले विदेशमा रहेका नेपालीको सामर्थयलाई जोड्ने सपना देख्नु कुनै महत्त्वाकांक्षा थिएन, त्यो त एउटा ‘हुटहुटी’ थियो। त्यही हुटहुटी अहिले नेपाली माटोमा गाडेको नाभीको रुख झैँ विश्वभर फैलिएको यथार्तता पढ्दा सामान्य लाग्ला तर सन्देश गम्भीर छ।




