फेसबुक स्टाटसजस्तै लोकप्रिय बन्ला त बालेनको कार्यशैली?

हिमाल प्रेस १३ चैत २०८२ १०:३१ | Friday, March 27, 2026
60
SHARES
फेसबुक स्टाटसजस्तै लोकप्रिय बन्ला त बालेनको कार्यशैली?

काठमाडौँ- जेनजीको आन्दोलन थप हिंसात्मक बन्दै जाँदा भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमा लेखेका थिए- ‘प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला!’

तत्कालीन प्रधानमन्त्रीलाई हत्याराको आरोप लगाएर उनले अब जेनजी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने भएकाले तयार रहन अपिल गरेका थिए। बालेनको अर्को आग्रह थियो- सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहनुहोला। वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने उनको सर्त थियो।

संसद् विघटन भयो। सेनाको समेत समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो। फागुन २१ गते शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भयो। निर्वाचनमा धेरै ठाउँबाट युवा उम्मेदवार निर्वाचित भए। बालेनले उक्त स्टाटसमा भनेझैँ प्रतिनिधिसभामा याँ पुस्ताको वर्चस्व देखिएको छ। गत भदौ २४ मा केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई हटाउने हिंसात्मक युवा प्रदर्शनप्रति समर्थन जनाएपछि बालेनको लोकप्रियता झन् चुलिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि त उनी विदेशी सञ्चारमाध्यमको नजरमा समेत पर्न थालेका थिए।

तत्कालीन ओली सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरू प्रतिबन्ध गर्ने प्रयास गरेपछि सुरु भएको जेनजी आन्दोलन छिट्टै असमानता र नेपो बेबी संस्कृतिले ग्रसित राजनीतिक प्रणालीविरुद्धको विद्रोहमा परिणत भएको थियो। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास, संसद् र सर्वोच्च अदालतमा आगजनी गरेका थिए। त्यसपछि बालेनले संयमित रहन अपिल गरेका थिए।

बालेनका फेसबुक स्टाटस अध्ययन गर्दा ‘झगडालु स्वभाव’ का देखिन सक्छन्। हुन पनि उनले सामाजिक सञ्जालमा आफ्ना आलोचकहरूविरुद्ध आक्रोश पोख्ने र चकित पार्ने राजनीतिक टिप्पणी गर्ने बानी बनाएका छन्। उनको स्टाटसमा क्षणभरमै हजाराैँको सकारात्मक प्रतिक्रिया आइहाल्छ। साथै उनले ‘सबै नेता चोर हुन्, देश लुटिरहेका छन्’ जस्ता सन्देश बोकेका गीतमार्फत स्थापित राजनीतिक वर्गमाथि प्रहार गर्दै चर्चा पाएका छन्।

३५ वर्षीय बालेनले जीवनमा भिन्नभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्। उनी इन्जिनियर, र्‍यापर र राजधानी काठमाडौँमा मेयर भइसकेका व्यक्ति हुन्।

उनी पुसमा मात्रै प्रवेश गरेको रास्वपाले प्रतिनिधिसभामा झन्डै दुईतिहाई मत ल्याएपछि बालेनका लागि प्रधानमन्त्रीको ढाका खुलेको हो।

बालेनको सफलता आकस्मिक रूपमा आएको भने होइन। काठमाडौँका मेयरका रूपमा उनले अनावश्यक झन्झट हटाउन कटिबद्ध, स्पष्ट र कडा निर्णय लिने नेताको छवि बनाएका थिए। काठमाडौँका सडक व्यापारी र सुकुम्बासीमाथि कडाइ गरेको भन्दै उनीमाथि आलोचना पनि भइरहेका छन्।

देशको ४० प्रतिशत जनसंख्या ओगट्ने १६ देखि ४० वर्ष उमेर समूहका नागरिक ठूलो संख्यामा रास्वपाका पक्षमा उभिएका थिए।

प्राय: कालो पहिरनमा र गाढा चस्मा लगाएर देखिने शाहले चुनावी अभियानका क्रममा कमै मात्र भाषण दिए र प्रायः सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूसँग संवाद गरे थिए। उनको अभियान आर्थिक सुधारमा केन्द्रित थियो, जसमा गरिब नेपालीका लागि शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रतिबद्धता समावेश थियो।

उनले आफ्नो लोकप्रियतालाई प्रभावकारी शासनमा रूपान्तरण गर्न सक्छन् कि सक्दैनन् भन्ने अझै अनिश्चित छ। किनभने उनको सरकारी अनुभव काठमाडौँ महानगर सञ्चालनसम्म मात्रै सीमित छ। उनलाई प्राप्त स्पष्ट जनादेशले सुधारका एजेन्डा अघि बढाउन पर्याप्त अवसर दिन सक्छ। तर राष्ट्रिय स्तरमा शासन सञ्चालनको सीमित अनुभव र समर्थकहरूको अपेक्षा व्यवस्थापन गर्ने चुनौतीले आगामी महिनामा उनको नेतृत्वलाई कठोर परीक्षामा पार्न सक्छ। यसैगरी उनले भ्रष्टाचार र दीर्घकालीन राजनीतिक अस्थिरताका लागि व्यापक रूपमा दोषारोपण गरिएका परम्परागत दलहरूप्रति जनतामा रहेको गहिरो असन्तुष्टिको व्यवस्थापन गर्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ।

उनका धेरै समर्थकहरूका लागि भने उनको राजनीतिक उदयले नेपालमा जरा गाडेको पुरानो राजनीतिक संरचनाबाट स्पष्ट विच्छेदको संकेत गर्छ। कमजोर प्रतिपक्षबाट बालेनले फाइदा लिन सक्नेछन्। आफ्नो दलको करिब दुई-तिहाई सांसदहरूको समर्थन रहेकाले संसदबाट विधेयक पारित गर्न र सुधारका कार्यक्रम अघि बढाउन उनलाई सहज हुन सक्छ।

प्रकाशित: १३ चैत २०८२ १०:३१ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast