गनेस पौडेल
पोखरा- ‘हिजोसम्म चिया पसलमा सहजै भेटिनेहरू आज ‘अपोइन्टमेन्ट’ बिना भेटिनै गाह्रो हुन्छन्। साथीहरूसँगको स्वाभाविक हाँसो ‘इमेज म्यानेजमेन्ट’ ले विस्थापित गर्छ। सट्याकसुटुक थियटर जानेहरू ‘भीआईपी सो’ बाहेक हलमा पस्दैनन्। कुकुर डुलाउन निस्कँदा पनि अघिपछि सुरक्षाकर्मी हुन्छन्, मर्निङ वाक ‘प्रोटोकल वाक’ मा बदलिन्छ।’
मुलुकको ४३ औँ प्रधानमन्त्री नियुक्त बालेन शाहको क्याबिनेटमा पर्यटनमन्त्री बनेका खडगराज पौडेल (गनेस) ले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो, यो। विकृति-विसंगतिविरुद्ध विद्रोही स्वभावका उनले सांसदको शपथ ग्रहणपछि लेखेका थिए, ‘हिजोसम्म सार्वजनिक सवारी वा बाइक-स्कुटर चढ्नेहरू गाडीको कालो सिसाभित्र कैद हुन्छन्। यहाँसम्म कि हिजोसम्म आफूले नमस्ते गर्ने गाउँका अग्रजसँग समेत गमक्क परेर ‘माननीय’ मान खोज्ने प्रवृत्ति देखिन्छ तर हामीबाट यस्तो हुँदैन, कम्तीमा गपौ (गनेस पौडेल) बाट त्यस्तो हुँदैन।’
पोखराका साहित्यकार गनेस यस्तो भाग्यमानी ठहरिए, जो पहिलोपल्ट सांसद निर्वाचित भए र मन्त्री बन्न पाए। साहित्यमार्फत तिखो प्रहार गर्ने उनी ‘अटेरी’ नामले पनि चर्चित छन्।
२०७९ सालमा वालेन्द्र शाह काठमाडौँको मेयरमा लौरो चुनाव चिह्न लिएर चुनावमा होमिए, यता पोखरामा गनेस पनि मेयरमा लौरो लिएर स्वतन्त्र उम्मेदवारी दिए। उनले देशभर लौरो अभियान फैलाउन महत्त्वपूर्ण भूमिका खेले। तर काठमाडौँमा बालेनले चुनाव जिते पनि गनेस पोखरामा धनराज आचार्यसँग फराकिलो मतान्तरले पराजित भए। आचार्यले ५८ हजार ८९३ मत पाउँदा पौडेल ३ हजार ३० मतसहित चौथो स्थानमा सीमित भएका थिए।
त्यसको साढे तीन वर्ष नबित्दै गनेसले बालेनको क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्। पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायी पनि पोखराले पर्यटनमन्त्री पाएकामा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै बधाई दिइरहेका छन्।
गनेस र बालेन स्थानीय तहको चुनावदेखि नै हितैषी हुन्। बालेन पोखरा घुम्न आउँदा फेवातालमा सँगै घुम्थे र गनेसकै घर पुग्थे। दुवैजना रास्वपामा चुनावताका मात्रै प्रवेश गरेका हुन्। बालेन पार्टीको वरिष्ठ उपाध्यक्ष हुँदा गनेस केन्द्रीय सदस्य चुनिए। गनेसले २१ फागुनको चुनावमा बालेनकै प्यानलबाट कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको टिकट पाए। फरक शैलीमा चुनाव प्रचारमा लागे। मतदाता भेटेर भोट माग्दा उनी जनताको गुनासो सुन्ने गरी अन्तरक्रिया चलाउँथे।

एमाले र कांग्रेसले पटकपटक जित्दै आएको कास्की १ मा सुरुमा घण्टी चुनाव चिह्नले जित्नेमा आशंका थियो। मतदाताको मत न हो, उनी अनपेक्षित फराकिलो मतान्तर २८ हजार ६६९ सहित निर्वाचित भए। उनले ३९ हजार ८८३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए। एमाले कास्कीका अध्यक्षसमेत रहेका उम्मेदवार वैनबहादुर क्षेत्री (अधिकारी) ले १० हजार ४२९ मत ल्याए। नेकपाका राजकाजी गुरुङको दुई हजार ४७९ मत आयो।
कास्की १ मा एकजना स्वतन्त्रसहित १७ जना उम्मेदवार रहेकामा भारी मत दिएर संघीय सांसदको दैलो उघारिदिएका कास्कीवासीले सात वर्षपछि पर्यटनमन्त्री पाएका हुन्। विगतमा लगातार तीनपल्ट चुनाव जितेका एमालेका रवीन्द्र अधिकारी पर्यटनमन्त्री बहाल रहेका बेला हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका थिए। त्यसो त कास्की १ पटकपटक मन्त्री पाइरहने क्षेत्र हो। विगतमा कांग्रेसका तारानाथ रानाभाट सभामुखसम्म भए। एमालेका खगराज अधिकारी, कांग्रेसका यज्ञबहादुर थापाले विभिन्न मन्त्रालय सम्हालेको पाइन्छ।
‘पैताला’ उपन्यासका लेखकसमेत रहेका गनेस पौडेल बेलाबेलामा अखबारी लेखनमा पनि उत्तिकै क्रियाशील छन्। विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको ‘अफ माइस एन्ड मेन’ पुस्तकको नेपाली संस्करण ‘मुसा मानुष’ उनीद्वारा अनूदित कृति हो। उनी छिट्टै आख्यान र गैरआख्यान पुस्तक प्रकाशनको तयारीमा छन्।
लामो समय शिक्षण पेसा अपनाएका उनले एमबीए तथा अंग्रेजी साहित्यमा स्नातक गरेका छन्। पुस्तक भनेपछि हुरुक्कै हुने गनेस र्यान्डम रिडर्स सोसाइटी अफ नेपालका परिकल्पनाकारसमेत हुन्। संस्थाका पूर्वअध्यक्ष उनी पोखरामा हुने विभिन्न साहित्यिक गतिविधिमा बरोबर देखिने साहित्यिक स्रष्टा हुन्।
पोखरा-१४ मझेरीपाटन निवासी उनको घरनजिक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको छ। उनले पोखराको निम्ति यो भार हो भनी विमानस्थल निर्माणमा विरोध जनाउँदै आएका छन्। जग्गा अधिग्रहण प्रक्रियामा पनि असहमति जनाएका थिए।
आखिर पोखरा विमानस्थलसहित समग्र पर्यटन, कला, संस्कृतिको संरक्षण एवं प्रवर्धननको जिम्मेवारी उनको काँधमा आइपुगेको छ। यत्ति नै बेला धेरैजनामाथि अख्तियारले पोखरा विमानस्थल निर्माणमा घोटाला भएको भनी मुद्दा चलाएको छ। अब उनी कसरी अगाडि बढ्छन् भन्ने कुरा भोलिका दिनले देखाउनेछ। ‘अटेरी’ लाई सफल कार्यकालको शुभकामना!





