टंकको साथ छोडेर परिवारसँगै बस्न थाले अशोक दर्जी

हिमाल प्रेस १७ चैत २०८२ १७:०० | Tuesday, March 31, 2026
32
SHARES
टंकको साथ छोडेर परिवारसँगै बस्न थाले अशोक दर्जी

काठमाडौँ- बाल गायक अशोक दर्जी विगत ८ वर्षदेखि गायक तथा संगीतकार टंक बुढाथोकीको घरमा बस्दै आएका थिए। अहिले उनी आफ्नौ घर झापामा बस्दै आएको  संगीतकार बुढाथोकीले फेसबुकमार्फत् जानकारी दिएका छन्।

संगीतकार बुढाथोकीको भनाइअनुसार पारिवारिक जिम्मेवारी बोध, परिवारको निर्णय र जिम्मेवारीसहित अशोक आफ्नै घर फकिएका हुन्।

परिवारको न्यून आर्थिक अवस्थाकै कारण अशोक सानैदेखि रोडमा गीत गाएर पैसा कमाउँथे। गीत गाउँदै गर्दा एकाएक भाइरल बने। त्यसलगत्तै टंकले अशोकलाई ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीत गाउन दिए, जुन निकै चर्चित बन्याे।

त्यसयता टंकले आफ्नै छोरा जसरी हुर्काए र पढाइरहेका थिए। टंकसँगै रहँदा अशोकले अन्य गीत पनि गाए। उनले गाएको ‘चौरीको चाम्रो छुर्पी’, ‘प्रणाम’, ‘बाआमा’लगायत गीत चर्चित छ।

साथै उनले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ भन्ने गीतकै थिमका फिल्म खेल्ने मौकासमेत पाए। टंकले नै निर्देशन गरेको फिल्म गत कातिकमा प्रदर्शन भएको थियो। फिल्ममा अशोककै कथा समेटिएको छ।

अब भने अशोकले आफ्नै परिवारसँग बस्ने निर्णय गरेको टंकले लेखेका छन्। अशाेक करिब ४ महिनादेखि आफ्नै घर झापामा बस्दै आएको टंकले खुलाए। साथै अशोकले झापामै पढाई पनि सुरु गरिसकेको बताएका छन्।

‘अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्,’ टंकले लेखेका छन्, ‘गत ३/४ महिनादेखि अशोक आफ्नो परिवारसँग झापा घरमा बस्दै आएका छन्। उनकै निर्णयअनुसार उनले पढाइ पनि झापाकै एक विद्यालयमा सुरु गरिसकेका छन्।’

अशोकसँग भगवानले जुराइदिएको सम्बन्ध र जिम्मेवारीलाई आफूले सकेसम्म सही शिक्षा र मार्ग निर्देशन दिने प्रयास गरेको अनुभूति साट्दै टंक लेख्छन, ‘८ वर्षसम्म आफ्नै साथमा राखेर, अशोकलाई ‘हिरो’ सम्म बन्ने हौसला, शिक्षा र मार्गदर्शन दिने क्रममा एक अभिभावकले निभाउनुपर्ने कर्तव्यमा सकेसम्म कुनै कमी हुन दिइन जस्तो लाग्छ।’

स्टाटसमार्फत नै टंकले आफूले सधैं संगीतमा सहयोग गर्ने बाँचासहित अशोकको उज्ज्वल भविष्यको कामना र पढाइलाई निरन्तरता दिन आग्रह गर्दै गरेका छन्।

पढाईकै बीचमा उनले किन टंकको साथ छोडे। त्यो अहिले चासोको विषय बनेको छ।

टंककै निर्देशनमा बन्ने फिल्म ‘बाआमा’ मा अशोक जोडिएका छन्। साथै नीता ढुंगानाको लगानीमा बन्ने ‘पार्वती’ मा पनि अशोकको अभिनय रहनेछ।

प्रकाशित: १७ चैत २०८२ १७:०० | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast