काठमाडौँ- दैलेख क्षेत्र नम्बर १ मा गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्वसांसद तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका पूर्वसभापति अम्मरबहादुर थापा चौथो भएका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका थापाले जम्मा ४ हजार २५६ मत मात्रै प्राप्त गरे।
यस निर्वाचनमा नेपाली कांग्रेसकी बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएकी छन्। त्यस्तै नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत ल्याएका छन्।
अम्मरबहादुर थापा यसअघि भने यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका उनले १८ हजार २९७ मत ल्याएर विजय हासिल गरेका थिए। सो चुनावमा उनले एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८५२ मतान्तरले पराजित गरेका थिए।





