पक्राउ गर्न प्रहरी परिचालन भएपछि महेश बस्नेतले भने : ओलीविरुद्धको आन्दोलन असफल पार्ने षड्यन्त्र

हिमाल प्रेस १६ चैत २०८२ ६:३८ | Monday, March 30, 2026
14
SHARES
पक्राउ गर्न प्रहरी परिचालन भएपछि महेश बस्नेतले भने : ओलीविरुद्धको आन्दोलन असफल पार्ने षड्यन्त्र

काठमाडौँ- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको प्रतिशोधात्मक कारबाहीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आफू विरुद्ध पुरानै मुद्दालाई पुनः ब्युँताएर पक्राउ गर्ने र मिडिया ट्रायल गर्ने योजना बनाइएको दाबी गरेका हुन् ।

बस्नेतले आफ्नो फेसबुक स्ट्याटसमा तीन वर्षअघि एक फेक व्यक्ति लाई अगाडि सारेर आफू विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको र उक्त जाहेरी प्रहरी अनुसन्धानबाटै फर्जी प्रमाणित भइसकेको दाबी गरेका छन्। सोही विषयमा उच्च अदालत पाटनमा परेको रिट खारेज भइसकेको र मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक जाहेरी दिन लगाइएको उनको आरोप छ।

आफू फरार रहेको र फोन अफ गरेको भन्ने प्रचारलाई उनले पूर्णतः भ्रामक र गलत भएको बताएका छन् । ‘मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ। यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन साबित हुनेछ ।’, उनले लेखेका छन् ।

उनकै कारण आफू पीडित भएको भन्दै शोभा पाठकले आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा पक्राउ गरी कारबाही गर्न मागसहित पूरक जाहेरी दर्ता गराएकी छन् ।

प्रकाशित: १६ चैत २०८२ ६:३८ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast