कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

हिमाल प्रेस ६ चैत २०८२ ५:५१ | Friday, March 20, 2026
6
SHARES
कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डंगोलले पानी पर्ने मौसम सुरु हुनुअघि नै (कुमारी वहाल) कुमारी घरको छानो जीर्णोद्धार गरिसक्न निर्देशन दिएकी छन्।

बिहीबार छानो जीर्णोद्धार कार्यको अनुगमन गर्दै उनले बिहीबार कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएकी हुन्।

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग गत फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जीर्णोद्धारको काम सुरु भएको हो।

सम्झौता अवधि २०८३ माघ ३० गतेसम्म छ। आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर जीर्णोद्धारका लागि प्रयोग हुने झिँगटी, काठलगायत छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न खुला प्रतिस्पर्धाबाट छानिएको निर्माण पक्षले रु ७१ लाख २४ हजार ६८९ निर्माण कवोल गरेको छ।

अनुगमनका क्रममा वडा २३ का अध्यक्ष एवं वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले महत्त्वपूर्ण कामलाई उच्च प्राथमिकता दिएर सञ्चालन गरिने बताए।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार वहालको छानो ४६४ वर्गमिटर क्षेत्रफलको छ।

निर्माणकार्य गर्दा पूर्व र उत्तरतर्फको छानोलाई पहिले मर्मत गरिने छ। त्यसपछि मात्र पश्चिम र दक्षिणतर्फको छानो मर्मत गरिने बताइएको छ।

गएको बर्खायाममा कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २० गते समिति गठन भएको थियो।

अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारी घरका नामले चिनिने कुमारी वहालको तीनै तलाको पर्खालमा चिरा परेको छ।

२०७२ को भूकम्पले हनुमान ढोका दरबार क्षेत्रका १० वटा संरचना ध्वस्त र कुमारी वहालसहित २१ वटा संरचना आंशिक क्षति भएको बताइएको छ।

प्रकाशित: ६ चैत २०८२ ५:५१ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast