जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छ : राष्ट्रपति

हिमाल प्रेस ११ चैत २०८२ १४:४४ | Wednesday, March 25, 2026
12
SHARES
जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताएका छन्।

निर्वाचन आयोगले बुधबार आयोग परिसर बहादुर भवनमा आयोजना गरेको जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताए।

‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

राष्ट्रपति पौडेलले संघीयय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा आह्वान पनि गरे।

राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ, यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ, मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गरेको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ।’

आयोगले यसपटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको उनले बताए।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै उनले देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिन घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भई शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सम्बद्ध सरोकारवाला तथा आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए।

प्रकाशित: ११ चैत २०८२ १४:४४ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast