टिप्पणी

नेपाल-इरान सम्बन्धको अध्याय : राजपरिवारबीच थियो ‘आत्मीय’ साइनो

'उग्रक्रान्तिकारीहरू शक्तिशाली हुने बित्तिकै रुढीवादी बन्छन्'

चन्द्रशेखर अधिकारी २० फागुन २०८२ २०:५९ | Wednesday, March 4, 2026
50
SHARES
नेपाल-इरान सम्बन्धको अध्याय : राजपरिवारबीच थियो ‘आत्मीय’ साइनो एआईको सहायतामा बनाइएको तस्बिर।

‘अधिकांशः उग्र क्रान्तिकारीहरू क्रान्तिपछि शक्तिशाली हुने बित्तिकै रुढीवादी बन्न पुग्छन्,’ जर्मन दार्शनिक हाना एरेन्टले भनेका थिए। त्यही भएको थियो १९७९ फेब्रुअरी पछि। साँच्चैभन्दा इरान उल्टो गतिमा अघि बढेको थियो। क्रान्तिकारी नेता रुढीवादी बन्दा युरोप अमेरिकाभन्दा अघि रहेको इरानीहरू खुम्चिन बाध्य थिए। अहिले युरोप र अमेरिकामा पढेलेखेका देखिने महिलाहरू साढे चार दशकअघि इरानमै देख्न सकिन्थ्यो। त्यो स्तरमा पुगेकाे थियो इरानी चेतना।

त्यतिबेला शासन थियो, शाह रजा पहलवीको। उनी २५ सय वर्ष पुरानो पर्सियन शासकको पुस्ता थिए। उनी सन् १९५३ मा राजगद्दीमा फर्किएपछि उनले समाजलाई खुलामात्र बनाएनन्, शिक्षित र उद्यमी समाजको निर्माण गरे। त्यो समाजले मुलुकलाई माथिल्लो स्तरमा पुर्‍यायो।

इरानमा महिलाले त्यो स्तरको खुलापनको अधिकार पाएका थिए भन्दा धेरै मानिसलाई विश्वास नलाग्न सक्छ। किनकि अहिले कट्टर इस्लामिक राज्य छ, इरान। त्यतिबेला खुला अर्थतन्त्र पनि थियो। सन् १९७९ को इस्लामिक क्रान्ति हुनुअघि इरान एउटा आधुनिक र औद्योगिक मुलुक मात्र थिएन, जहाँ महिलाको अधिकार र शिक्षालाई विशेष जोड दिने अहिलेको आधुनिक युरोप अमेरिकाभन्दा अघि थियो।

तर उग्रक्रान्तिकारी शासक आए, सन् १९७९ फेब्रुअरीमा। त्यसपछि एकै रातमा आधुनिक इरान अँध्यारोतर्फ फर्कियो। अहिले ४६ वर्षपछि त्यो शासन अन्त्यको नजिक छ। हाल इरानमा भइरहेको अमेरिका-इजरायलको सैन्य आक्रमणले इरानी शासक आयतोल्लाह अली खामेनीको अन्त्य भएको छ। सँगै पश्चिम एसियाली मुलुकमा एक पटक फेरि बादल मडारिएको छ। इरानले जवाफी आक्रमण नरोक्दा यो अवस्था आएको हो।

इरानमा लोकतन्त्र आउने आशासँगै अस्थिर इरान पनि भनिरहेका छन्। हुन त अमेरिका र इरानको सम्बन्ध यस्तो हुनमा इरानको खानीमा अमेरिकी र बेलायती लगानी हो भनिन्छ। यद्यपि त्यति मात्र नभएर त्यहाँका आम नागरिक जुन पीडामा छन्, त्यो चीत्कारलाई अमेरिकाले सुन्न खोजेको र आणविक कार्यक्रमबाट इरानलाई पछि धकेल्न खोजेको मात्र हो।

अमेरिका इरान आमनेसामने 

अमेरिकासँग इरानको दुस्मनी अर्थात् आमनेसामने सन् १९५३ देखिकै हो। अमेरिकाले बेलायतसँग मिलेर इरानमा सत्ता परिवर्तन गरेदेखि नै यी दुई मुलुकबीच राम्रो सम्बन्ध छैन। त्यतिबेला निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताच्युत गरेर अमेरिका र बेलायतले इरानका राजा शाह रजा पहलवीलाई नै कार्यकारी बनाएका थिए। राजा र निर्वाचित प्रधानमन्त्रीबीच उदारीकरण र राष्ट्रियकरणको विषयमा विवाद हुँदा राजा निर्वासित हुन परेको थियो।

प्रधानमन्त्री मोहम्मद धर्म निरपेक्षतामा विश्वास राख्ने भए पनि उनी उदार अर्थतन्त्रका विरोधी अर्थात् त्यहाँका खानीहरूलाई राष्ट्रियकरण गरेर आमनागरिकको पहुँचबाट टाढा लैजान चाहन्थे। उनी निर्वाचित भएलगत्तै  त्यो काम अघि बढाए। अनि उनीमाथि कू भयो। र, राजा पहलवी नै मुलुकको कार्यकारी भए।

विश्वयुद्धपछि पहिलोपटक अमेरिकाको भूमिकामा निर्वाचित प्रधानमन्त्री कू भएका थिए। यसको बदला स्वरुप १९७८ अगस्टमा एक सिनेमामा भएको आगलागीपछि सहरमा आक्रोश फैलियो र त्यसलाई क्यास गरेर इरानमा क्रान्ति सुरु भयो। क्रान्तिकारी भनेर चिनिएका नेता नै क्रान्ति सफल भएपछि रुढीवादी बनेकाले इरान पछि पर्दै गएको हो।

आधुनिक इरानका राजाले सन् १९७१ मा इरानी सभ्यता झल्काउने एक ऐतिहासिक समारोह आयोजना गरे। त्यो थियो- पर्सियन साम्राज्य स्थापनाको २५०० औँ वर्षगाँठ। यसलाई विश्वभर ‘पर्सियाको २५०० औँ जन्मजयन्ती’का रूपमा चिनियो। समारोहको आयोजना स्वयं राजा पहलवीले गरेका थिए, जसको उद्देश्य इरानको ऐतिहासिक वैभव र आधुनिक प्रगतिलाई एउटै मञ्चमा प्रस्तुत गर्नु थियो।

यो समारोह विश्व इतिहासकै भव्य राजकीय आयोजनामध्ये एक मानिन्छ, जसको भव्यता गिनिज बुकमा समेत अभिलेखित छ। समारोहमा ६० भन्दा बढी राष्ट्रप्रमुख वा सरकार प्रमुखको उपस्थिति थियो। नेपालबाट राजा महेन्द्र र रानी रत्न त्यहाँ पुगेका थिए। त्यतिबेलाका विश्वका जल्दबल्दा नेताहरू त्यहाँ सहभागी थिए। जस्तै युगोस्लाभियाका राष्ट्रपति टिटो, मोनाकोका राजकुमार रेनिअर र राजकुमारी ग्रेस, अमेरिकाका उपराष्ट्रपति सिप्रो अग्नेयु र सोभियत संघका निकोलाई पोगर्नीलाई यस पार्टीमा सहभागी थिए।

विदेशमा निर्वासित जीवन बिताइरहेका र इरानमा अमेरिकी प्रभावलाई नरुचाएका एक नयाँ नेता आयोतोल्लाह रुहोल्लाह खामेनीले आठ वर्षपछि उक्त समारोहलाई  ‘सैतानहरूको पार्टी’ भन्दै शासकविरुद्ध संघर्ष गर्न आग्रह गरे। अगस्ट १९७८ मा इरानमा इस्लामिक क्रान्ति सुरु भयो। त्यतिबेला खामेनी फ्रान्स, टर्की, इराकमा निर्वासित जीवन बिताइरहेका थिए। उक्त क्रान्ति केही महिना चल्यो र १६ जनवरी १९७९ मा इरानी शाह मोहम्मद रजा पहलवी देश छाडेर भाग्न बाध्य भए।

शासक खामेनी

त्यसको दुई सातापछि १ फेब्रुअरी १९७९ मा इरानका सर्वोच्च धार्मिक नेताका रूपमा आयोतोल्लाह खामेनी निर्वासनबाट फर्किए। तेहरानमा उनलाई स्वागत गर्न ५० लाखभन्दा बढीको भिड जम्मा भएको भनिन्छ। राजा पहलवीको नेतृत्वमा इरान पश्चिमीकरणतर्फ तीव्र गतिमा अघि बढेको र तिनको निर्भरतामा मुलुक रहेको खामेनीको धारणा इरानमा आगोझैँ फैलियो, जुन धारणाले उनलाई क्रान्ति गर्न सहज पनि भयो।

यही असन्तोष प्रदर्शनीमा बद्लियो र प्रदर्शनीले क्रान्तिको रूप लिएको थियो। उनी आएपछि जनमत संग्रह गरे। अनि इरानलाई इस्लामिक गणतन्त्र घोषित गरियो। झन् लोकतान्त्रिक होला भनेको इरान उल्टो रुढीवादीमा परिणत भयाे। उनी राजाभन्दा उदार होलान् भन्ने आस गरेका आमनागरिकले उनको चाल उल्टो पाए। कपाल काटेर छोटा लुगा लगाएर हिँड्न बानी परेका इरानी महिलाहरू घरमा सीमित हुन पर्‍यो भने शरीरको औँला र आँखा मात्र देखाएर हिँड्न पाउने भए।

इरानमा सन् १९२१ मा पहलवी वंशको राजतन्त्र सुरु भएको थियो भने त्यो वंश साँच्चै उदार थियो। २५ सय वर्ष पुरानो फारसी राजतन्त्रलाई रेजा शाह पहलवीले पुनःस्थापना गरे। उनले नै इरानमा आधुनिकीकरण प्रक्रिया पनि अघि बढाए। उनले उद्योग तथा पूर्वाधारहरूमा ठूलो रूपान्तरण गरेका थिए। दोस्रो विश्वयुद्ध सुरु हुनुअघि नै इरानमा ८ सय बढी उद्योग खुलेका थिए। त्यही समयमै १२ हजार किलोमिटरका आधुनिक सडक इरानमा बनिसकेका थिए।

दश हजार वर्षको इतिहास र सभ्यताको साथ इरान अघि बढेको थियो। इरान नेपालभन्दा ११ गुणा ठूलो मुलुक हाे। स‌ंसारकै १७ औँ ठूलो मुलुकमा इरान पर्छ। यो मुलुकलाई १९३५ सम्म फारसी भनिन्थ्यो। किनकि यहाँ ६१ प्रतिशत फारसी भाषी छन्। हुन पनि  इरान बहु-सांस्कृतिक मुलुक हो, जसले धेरै आदिवासी र भाषा समूहहरू छन्। फारसी बाहेक यहाँ अजरबैजान १६ प्रतिशत, कुर्दिस  १० प्रतिशत र अन्य (बलोची, लोरी, माजान्दरानी, लोरी बख्तियारी, गिल्की, ताल्सी र अरबी) १३ प्रतिशत भाषा बोलिन्छ।

इरान पुरानो विगत भएको र व्यापक संस्कृति/सभ्यताको उत्तराधिकारी मुलुक नै हो। याे मुलुकले हजारौँ वर्षको अवधिमा उल्लेखनीय लचिलोपन र सहिष्णुताका साथ  धार्मिक, भाषिक, रीतिरिवाजको दायरालाई समेटेको पाइन्छ। जसले गर्दा जातीय विविधतामा इरान विश्वका शीर्ष १० मुलुकमा दर्ज छ। इरानमा ५० भाषा बाेलिन्छ भने आठ आधिकारिक जातीय समूहहरू छन्।

इरानमा कृषिको आधुनिकीकरण गर्दै आम्दानी समेत बढेको थियो। इरानी शाहले २६ फेब्रुअरी १९६३ मा महिलाहरूलाई मतदान गर्ने र चुनावमा उम्मेदवारी दिन पाउने अधिकार दिएका थिए। खामेनी आएपछि महिला मताधिकारलाई बेश्यावृत्तिसँग दाँजेर खारेज गर्दै चुलाचौकामा महिलालाई सीमित गरे। धर्मको नामबाट इरानलाई पूरै रुढीवादीतर्फ फर्काइयो।

खामेनी शासनमा आएसँगै पहलवी निर्वासनका लागि इजिप्टमा रहे। पछि क्यान्सरको कारण उनको मृत्यु भयो र खामेनीले आफूलाई धर्मकेन्द्रित नेता बनाए। सन् १९८० मा सद्दाम हुसेनले इरानमा आक्रमण गरे। इरान र इराकबीच आठ वर्षसम्म लडाइँ चलिरह्यो। यस युद्धमा अमेरिकाले सद्दाम हुसेनलाई सहयोग गरेको थियो। सोभियत संघले पनि हुसेनलाई नै सहयोग गरेको थियो।

यस युद्धमा पाँच लाख इरानी र इराकी मारिएका थिए। एउटा सम्झौता गर्दै यस युद्धलाई अन्त्य गरिएका थियो। अनि इरानले आफूलाई शक्तिशाली बनाउन परमाणु बम बनाउनुपर्छ भन्ने महसुस गरेको थियो। यसपछि उसले परमाणु बम बनाउने अनेकन् प्रयास जारी राख्यो र सन् २००२ सम्म यसलाई ढाकछोप गरिरह्यो।

सन् २००२ सम्म आइपुग्दा सद्दाम अमेरिकाको विरोधी देखिए। सन् २००३ मा अमेरिकी नेतृत्वको सेनाले इराकमा आक्रमण गरेपछि सद्दाम हुसैन पक्राउ परेका थिए। उनीमाथि ‘दुजैल नरसंहार’ (सन् १९८२ मा १४८ इराकी शिया नागरिकको हत्या) को मुख्य दोषी भएको आरोपमा इराकको विशेष अदालतमा मुद्दा चलाइएको थियो। सन् २००६ नोभेम्बर ५ मा अदालतले उनलाई ‘मानवता विरुद्धको अपराध’ मा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

इराकमा सद्दाम युग सकिएपछि यसको फाइदा इरानलाई भयो। उसको दह्रो नेतृत्वका कारण इराकभित्रै पनि गतिलो पहुँच बनाउन सफल भयो। हुन त अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले उतिबेला नै इरानलाई ‘एक्सिस अफ एभिल’ घोषणा गरिसकेका थिए।

परमाणु कार्यक्रम अघि बढाउने विषयमा इरानले खुला रूपमा बोल्यो। सन् २०१३ मा जब हसन रुहानी पुनः चुनिए, परमाणु कार्यक्रमबारे इरानसँग वार्ता गर्ने क्रम सुरु हुन थाल्यो। दशकौँको शत्रुताका बीचमा पनि ओबामा प्रशासनले सन् २०१५ मा ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन सुरु भयो। यसलाई ठूलो राजनीतिक सफलताका रुपमा हेरियो।

ओबामाले गरेको सम्झौतालाई २०१६ मा डोनाल्ड ट्रम्पले एकतर्फीरूपमा रद्द गरे। ट्रम्प प्रशासनले इरानलाई नयाँनयाँ प्रतिबन्ध लगाउँदै जान थाल्यो। इरानसँग व्यापार गर्ने जो कोहीले अमेरिकासँग कारोबार गर्न नपाउने धम्कीमात्र दिएनन्, रोक्ने काम पनि गरे। जसले गर्दा इरान र अमेरिकाबीच संघर्ष चलिरह्यो।

त्यतिबेलै इरानी जनरलको अमेरिकी हवाई आक्रमणका क्रममा मृत्यु भएपछि दुई देशबीचको दुस्मनी एउटा नयाँ उचाइमा पुगेको हो। अहिले पनि त्यही दुस्मनी जारी छ। यस्तो इरान अहिले पुनः यो अवस्थामा पुग्नु साँच्चै त्यहाँको नेताको कमजोरी हो। इरानका केही त्यस्ता नेताहरू छन्, जसले अझै पनि चेतेका छैनन्। उनीहरू अझै पनि पुराना कुरामै अडिग छन्।

पर्सियाको २५०० वर्षे उत्सवः महेन्द्र-रत्नको तेहरान यात्रा

सन् १९७१ मा इरानले आफ्नो प्राचीन सभ्यताको गौरव झल्काउने ऐतिहासिक समारोह आयोजना गर्‍यो। त्यो थियो- पर्सियन साम्राज्य स्थापनाको २५०० औँ वर्षगाँठ। यसलाई विश्वभर ‘पर्सियाको २५०० औँ जन्मजयन्ती’का रूपमा चिनियो। समारोहको आयोजना स्वयं शाह पहलवीले गरेका थिए, जसको उद्देश्य इरानको ऐतिहासिक वैभव र आधुनिक प्रगतिलाई एउटै मञ्चमा प्रस्तुत गर्नु थियो।

यो समारोह विश्व इतिहासकै भव्य राजकीय आयोजनामध्ये एक मानिन्छ। उक्त समारोहमा सहभागी हुन नेपालबाट तत्कालीन राजा महेन्द्र र रानी रत्न तेहरान पुगेका थिए। तेहरान अहिलेको दुबई र दोहा जस्तै हब थियो, त्यतिबेला। उक्त भ्रमणले दुई मुलुकबीचको उच्चस्तरीय सम्बन्धलाई औपचारिकता मात्र होइन, प्रतीकात्मक उचाइ दियो।

त्यतिबेलै असंलग्न परराष्ट्र नीति अपनाएको नेपाललाई इरानसँगको आफ्नै ऐतिहासिक सम्बन्ध यतिबेला सम्झिनु स्वाभाविक हुन्छ। कुनै बेला इरान आफ्नो सभ्यता बचाएर पनि आधुनिक विश्वको एक हिस्सा बनेको थियो। राम्रो नेताले मुलुककाे नेतृत्व गर्दा मुलुकको रूप कस्तो हुन्छ भन्ने उदाहरण हेर्न १९७९ अघि र त्यसपछिको इरान नियाले पुग्छ।

एउटा आगलागीको घटनालाई लिएर एक नेताको उक्साहटमा जब इरानी नागरिकले आफ्नो राजालाई सत्ताच्यूत गराए र उनी मुलुक छाडेर जान पर्ने अवस्था आयो अनि इरानी नागरिक विश्वबाट एक्लिँदै मात्र गएनन्, उनीहरू आफ्नै मुलुकमा अत्याचार सहेर बस्न बाध्य भए। इरानका राजा नै मुलुक छाडेर जाने भएपछि नेपालले दुई पक्षीय सम्बन्ध कायम राखेर तेहरानमा राखेको आफ्नो दूतावास बन्द गर्‍यो। धेरैलाई जानकारी नहोला नेपालको इरानमा आवासीय दूतावास थियो।

नेपाल र इरानबीचको सम्बन्ध केवल कूटनीतिक कागजपत्रको इतिहास होइन। यो राजदरबारस्तरको आत्मीयता, वैभव र बदलिँदो विश्वराजनीतिक प्रवाहको कथा पनि थियो। विशेषतः राजा महेन्द्र र राजा वीरेन्द्रको कालखण्डमा नेपाल-इरान सम्बन्धले विशिष्ट उचाइ पाएको देखिन्छ।

त्यो समय इरानमा मोहम्मद रेजा शाह पहलवीको शासन थियो भने नेपालमा राजा महेन्द्रको। पहलवीले आफ्नो देशलाई पश्चिम एसिया (मध्यपूर्व)को आधुनिक र शक्तिशाली राष्ट्रका रूपमा स्थापित गर्ने महत्वाकांक्षी योजना अघि बढाएका थिए। उनी सवल थिए। उनीबाट राजा महेन्द्र पनि प्रभावित भएका थिए।

त्यो समयको तेहरान केवल राजनीतिक राजधानी थिएन। यो खाडी क्षेत्रको सबैभन्दा आधुनिक सहरमध्ये एक थियो। अन्तर्राष्ट्रिय उडानका लागि तेहरान विमानस्थल आजका दुबई वा दोहा जस्तै ट्रान्जिट केन्द्रका रूपमा प्रयोग हुन्थे। इरानका विश्वविद्यालयहरू क्षेत्रमै अब्बल मानिन्थे, र त्यहाँका वैज्ञानिक, डाक्टर तथा इन्जिनियरहरू पश्चिम एसियाकै सबैभन्दा दक्ष जनशक्तिमा पर्थे।

राजा महेन्द्रको परराष्ट्र नीति बहुध्रुवीय सन्तुलनमा आधारित थियो। उनले छिमेकी भारत-चीनबीच सन्तुलन राख्दै युरोप, अमेरिका र पश्चिम एसियाली मुलुकसम्म सम्बन्ध विस्तार गर्ने रणनीति अपनाएका थिए। तेहरान भ्रमण त्यसै रणनीतिक दृष्टिकोणको निरन्तरता थियो।

तेहरानमा नेपाली दूतावास!

राजा पहलवीको शासनकालमा नेपालले तेहरानमा आवासीय दूतावास स्थापना गरेको थियो। राजधानी तेहरानमा नेपाली कूटनीतिक उपस्थिति हुनु आफैंमा ठूलो संकेत थियो। त्यो दूतावासले  पश्चिम एसियाली मुलुकमा नेपालले स्थायी पहुँच खोजिरहेको प्रमाण पनि दिएको थियो।

तेहरानस्थित नेपाली दूतावासका पहिलो र अन्तिम कार्यवाहक राजदूत थिए ईश्वरीराज पाण्डे। दूतावास खोले र नियोग प्रमुखका रूपमा उनी गए। त्यसपछि राजा मुलुक छाडेर निर्वासनमा जाने र त्यहाँ रहेका अमेरिकीलाई बन्धक बनाउने काम हुन थालेपछि नेपालले दूतावास बन्द गर्न पर्‍यो। दूतावास स्थापना गरेर नियोग प्रमुख रहेका पाण्डेले नै दूतावास बन्द गरेर नेपाल फर्केको अनुभव उनका छोरा र त्यो समयको इरान देखेका सिद्धान्तराज पण्डे सुनाउँछन्।

परराष्ट्र मन्त्रालयका करिअर कूटनीतिज्ञ पाण्डे पछि बेलायतका लागि राजदूत तथा अतिरिक्त सचिवसम्म भए। यसले तेहरान नियोगलाई नेपालले कति महत्त्व दिएको थियो भन्ने देखाउँछ। राजाको भ्रमण भएपछि कुराकानी चल्यो र पछि राजा वीरेन्द्रको शुभ राज्याभिषेकमा इरानी राजपरिवारबाट सहभागिता भएपछि सम्बन्ध झनै झांगिएको र दुई मुलुकबीच सहकार्य बढेको थियो।

त्यो समय इरान आर्थिक र सैन्य दृष्टिले तीव्र उकालो चढिरहेको थियो। शाह पहलवीले इरानलाई विश्व शक्तिका रूपमा उभ्याउने महत्त्वाकांक्षी योजना अघि सारेका थिए। उनले  तेल आयातलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रक्षा क्षेत्रमा व्यापक लगानीका रूपमा प्रयोग गरेका थिए। यस्तो परिवेशमा नेपालले इरानसँगको सम्बन्धलाई दीर्घकालीन सम्भावनाका रूपमा हेरेको थियो।

सन् १९७५ मा राजा वीरेन्द्रको शुभ राज्याभिषेक समारोह काठमाडौँमा भव्य रूपमा सम्पन्न भयो। उक्त समारोहमा विश्वका थुप्रै राष्ट्रप्रमुख र राजपरिवारका प्रतिनिधिहरू सहभागी भएका थिए। इरानबाट शाहका भाइ गुलाम रेजा पहलवी काठमाडौँ आएका थिए।

यो उपस्थिति केवल औपचारिक शुभकामना आदानप्रदान मात्र थिएन। यसले नेपाल-इरान सम्बन्धको राजपरिवारस्तरीय आत्मीयता र पारस्परिक सम्मानलाई झल्काउँथ्यो। शाह शासनकालमा दुवै देशका राजदरबारबीच प्रत्यक्ष सम्पर्क र सद्भाव कायम थियो।

निष्कर्ष

इतिहास सधैँ स्थिर रहँदैन। र, सोचेझैँ सबै कुरा अघि बढ्दैन पनि। सन् १९७९ मा इरानी इस्लामिक क्रान्तिपछि राजतन्त्रको अन्त्य भयो र शाह पहलवी देश छोडेर निर्वासनमा गए। इस्लामिक गणतन्त्रको स्थापना भएसँगै इरानको वैदेशिक नीति र शक्ति-सन्तुलन पूर्णतः परिवर्तन भयो।

यस परिवर्तनले नेपाल-इरान सम्बन्धमा पनि प्रभाव पार्‍यो। नयाँ राजनीतिक संरचना, क्षेत्रीय अस्थिरता र अन्तर्राष्ट्रिय प्रतिबन्धको पृष्ठभूमिमा नेपालले तेहरानस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय लियो। त्यो निर्णय आजसम्म पुनःस्थापित भएको छैन। दूतावास बन्द हुनु सम्बन्धविच्छेद भने होइन। तर आवासीय उपस्थिति समाप्त हुनु दुई देशबीचको सक्रियता घटेको संकेत भने अवश्य हो।

त्यसपछि सम्बन्ध प्रायः गैर-आवासीय संयन्त्रमार्फत सञ्चालन हुँदै आएको छ। राजा महेन्द्र र वीरेन्द्रको कालखण्डमा नेपाल-इरान सम्बन्धले एउटा विशिष्ट अध्याय लेख्यो। तर भव्य राजकीय समारोह, प्रत्यक्ष राजदरबार सम्पर्क र तेहरानमा स्थायी कूटनीतिक उपस्थिति यसकाे उदाहरण हो। राजा पहलवीको आधुनिकतावादी इरान र सन्तुलित परराष्ट्र नीति अपनाएको नेपालबीच त्यो समय आत्मीय र सकारात्मक सम्बन्ध देखिन्छ।

इस्लामिक क्रान्तिपछिको परिवर्तन, क्षेत्रीय अस्थिरता र विश्व-राजनीतिक पुनर्संरचनाले त्यो अध्यायलाई ऐतिहासिक स्मृतिमा सीमित गरिदियो। त्यो सभ्यता भएको मुलुक पछि एकाएक भ्रष्टाचारमा अग्रणी मुलुकमा देखियो। आमनागरिकलाई धर्मको नामबाट थिचोमिचो सुरु भयो जसका कारण इरानी त्यो सभ्यता र सांस्कृतिक सम्पदा धनी रहेकाे इरान (युनेस्को विश्व सम्पदामा -२७) नेतृत्वको कारण पछि परेको हो।

इरान एसियाली महादेशको दक्षिण पश्चिममा रहेकाे खाडी क्षेत्र चलाउने मुलुक हो। इरानले सधैँ त्यस क्षेत्रमा बनेका समूहहरूलाई सहयोग गरेर आफू विवादमा पर्दै आयो। मुलुकभित्र अतिवादी शासन प्रणाली लागू गर्ने, एकै नेता चार दशकसम्म सत्तामा रहिरहन पर्नेलगायत कारणले प्रकृति-स‌ंस्कृतिमा धनी रहेकाे र आर्यहरूको भूमि भनेर चिनिए पनि सधैँ विवादमा आउने मुलुक बनेको छ- इरान। त्यस्तो मुलुकमा नेपाली दूतावास हुँदा झन् समस्या हुने थियो नै।

यस्ता विगतबाट नेपालले पनि पाठ सिक्न आवश्यक छ। ती घटनाहरू केवल पुराना समाचार वा अभिलेखमा मात्र होइनन्। नेपालले आफ्नो परराष्ट्र नीति कसरी समयअनुसार परिमार्जन गर्छ भन्ने अध्ययनका महत्त्वपूर्ण सन्दर्भ हुन्। त्यसैले कुनै पनि मुलुकमा खोलिएका दूतावास स्थायी होइनन् भन्ने उदाहरण दिन आवश्यक छ। अनि कुनै पनि विदेशी मित्रले त्यो मुलुकको हित होइन आफ्नो हित अनुकूल त्यो मुलुककाे नागरिक वा कुनै नेतालाई चलाउने हुन्। हाम्रा नयाँ नेताहरूले यो कुरा बुझ्न आवश्यक छ।

महेन्द्रको तेहरान यात्रा र वीरेन्द्रको राज्याभिषेकमा इरानी राजपरिवारको उपस्थिति- यी दुवै क्षणले देखाउँछन् कि कूटनीति केवल सरकार-सरकारबीचको संवाद होइन, इतिहास, संस्कृति र शक्ति-समीकरणबीचको जटिल अन्तर्क्रिया पनि हो। अनि विदेशी प्रभाव बुझ्ने वा नियाल्ने अवसर पनि हो। त्यो समयमा इरानको प्रतिव्यक्ति आम्दानी २३ सय डलर कटेको थियो। यो स्तरकाे उपलब्धि कसरी भनेर नेतृत्वले प्रत्यक्ष बुझ्ने अवसर पनि हो। तर अहिले त नेपाल जस्तो मुलुकबाट यस्ता भ्रमणहरू ज्ञान लिन होइन घुम्नका लागि मात्र भइरहेका छन्।

हामीले पनि बुझ्न आवश्यक छ। आन्तरिकरूपमा कमजोर हुने बित्तिकै विदेशी शक्ति हाबी हुन्छ र त्यो शक्तिले राजालाई शक्तिमा ल्याउँदा आफूलाई फाइदा भए त्यो ल्याउन पनि सक्छ अनि नल्याउँदा फाइदा हुन्छ भने कुनै एक व्यक्तिलाई हिरो बनाएर चलाउन पनि सक्छ। इरानमा पनि आम नागरिकलाई पिल्साएका कारण त्यहाँ अन्य शक्ति हाबी भयो। त्यो सभ्यता र बुझाइ भएको मुलुक अहिले विश्वशक्तिसँग संघर्षमा छ। मुलुकका आम नागरिक गरिबी र बेरोजगारीमा लडिरहेका छन्। आम नागरिकले नेता चुन्दा गल्ती गर्दा यो अवस्था त्यहाँ आएको हो।  युरोप र अमेरिकाभन्दा अगाडि रहेको मुलुकका नागरिक अहिले खुम्चेर बस्न बाध्य छन्। यो सबैले बुझ्न पर्ने विषय हो।

प्रकाशित: २० फागुन २०८२ २०:५९ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast