प्रतीकात्मक तस्बिर।
महोत्तरी- महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ। सदरमुकाम जलेश्वरमा आज (मंगलबार) आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ अध्ययनसम्बन्धी परामर्श कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो।
एलायन्स एसिया नेपालको आयोजना एवं हेल्प लजिस्टिक र वर्ल्ड भिजन इन्टरनेसनलको सहकार्यमा भएको उक्त कार्यक्रममा जलेश्वर, मटिहान, मनराशिस्वा, लोहारपट्टी नगरपालिका र एकडारा, सोनमा, सम्सी, महोत्तरी तथा पिपरा गाउँपालिका बाढीको उच्च जोखिममा रहेको जानकारी दिइएको हो।
यस्तै बलवा, भंगहा, औरही र रामगोपालपुर गरी चार नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने बर्दिबास र गौशाला नगरपालिका बाढीको कम जोखिममा रहेका छन्।
कार्यक्रममा एलायन्स एशिया नेपालका अध्ययन प्रमुख रोहितकुमार यादवले बाढीको बेला पीडितसमक्ष तुरुन्त राहत सामग्रीको आपूर्ति, भण्डारण, व्यवस्थापन र ढुवानीका आवश्यक विकल्पबारे सोच्नुपर्ने बताए।
कार्यक्रममा अन्य प्राकृतिक प्रकोपका बेला पनि महोत्तरीमा तुरुन्तै राहत सामग्री पुर्याउन तथा उद्धार कार्यका लागि के कस्ता नीति, नियम र उपाय अपनाउन सकिन्छ भन्नेबारे परामर्श माग गरिएको थियो।
जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले बाढीबाट सबैभन्दा बढी प्रभावित १५ स्थानीय तहमा विपद् पूर्वतयारीका लागि सबै मिलेर काम गर्नुपर्ने बताए। उनले पालिकाभित्रका उच्च जोखिम भएका स्थानको पहिचान गरी जनचेतनाका साथै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए। रासस




