५१ दलले कटाउन सकेनन् ‘थ्रेस होल्ड’

हिमाल प्रेस २७ फागुन २०८२ १५:५७ | Wednesday, March 11, 2026
18
SHARES
५१ दलले कटाउन सकेनन् ‘थ्रेस होल्ड’

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड भन्दा कम मत प्राप्त गरेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।

सम्पूर्ण देशलार्ई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ८५ हजार ८७६ सदर मत गणना भएकामा थ्रेस होल्ड कटाउन दलहरूले कम्तिमा ३ लाख २३ हजार ६७२ मत ल्याउन आवश्यक हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ५८ हजार ८१० मतसहित अग्रता हासिल गरेको छ।

नेपाली कांग्रेस १७ लाख ५६ हजार ४३, नेकपा (एमाले) १४ लाख ५२ हजार ९३९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ८ लाख ९ हजार ६४१, श्रम संस्कृति पार्टी ३ लाख ८५ हजार ७४८ र राप्रपाले ३ लाख ३० हजार २८१ मत पाएका छन्।  यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उनले बताए।

न्यूनतम मत सीमा नकटाउने दलमा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७७ हजार ३४६, राष्ट्रिय परिवर्तन पार्टी १ लाख ७२ हजार ६६, जनमत पार्टीले ७९ हजार १४८, एकल चिह्न चकिया (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले ६१ हजार ८१७  नेपाल मजदुर किसान पार्टीले ४२ हजार २६१ मत ल्याएका छन्।

राष्ट्र निर्माण दल नेपालले ३९ हजार १६०, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४८, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी) ले २८ हजार ७६१, नेपाल जनता संरक्षण पार्टीले २८ हजार २५७, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २३ हजार ८५२, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८१६, एकल चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) ले १५ हजार २४६ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए।

त्यसैगरी सार्वभौम नागरिक पार्टीले १४ हजार ८५४, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ७०४, संयुक्त नागरिक पार्टीको ९ हजार १०३, स्वाभिमान पार्टीको आठ हजार १५२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०८, नेपाल जनता पार्टीको सात हजार १५७, राष्ट्रिय एकता दलको सात हजार ६०, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) ले ६ हजार १६३, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४४, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५८, नेपालका लागि नेपाली पार्टीले पाँच हजार १०, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले चार हजार ८२७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६७१, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले चार हजार ५१०, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले चार हजार ३१५, समाजवादी पार्टी नेपालको चार हजार २७२, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार ५०५ प्राप्त गरेका छन्।

नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १०८, नेपाल मातृभूमि पार्टीले ३ हजार २२४, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९३०, बहुजन शक्ति पार्टी नेपालको दुई हजार ७५४, प्रजातान्त्रिक पार्टी नेपालले २ हजार २३९,  नेपाल जनमुक्ति पार्टीले दुई हजार १६८, जनअधिकार पार्टीले दुई हजार ११०, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए।

पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बीपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका उनले बताए।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ। निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन्।

प्रकाशित: २७ फागुन २०८२ १५:५७ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast