विराटनगर– निर्वाचन बहिष्कार गर्ने नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज कृष्णप्रसाद चम्लागाई र जिल्ला सचिव सुमन पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, ५६ वर्षीय चम्लागाई सुन्दरहरैँचा नगरपालिका–१० का बासिन्दा हुन् भने ३७ वर्षीय पौडेल झापाको दमक नगरपालिका–५ का हुन्।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजे मोरङको कानेपोखरी गाउँपालिका–६, बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीको अनुमान अनुसार, पक्राउ परेका यी नेता आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने घटनासँग समेत संलग्न हुन सक्ने आशंका गरिएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले उक्त घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।





