बेइजिङ- गौतम बुद्ध जन्मस्थल तथा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थल लुम्बिनीमा लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान निर्माण गरिने भएको छ। यही २६ मार्चमा लुम्बिनीमा शिलान्यास गरिने समेत तय भएको छ।
गत शुक्रबार (मार्च ६ तारिख) बेइजिङस्थित नेपाली दूतावासमा आयोजित ‘लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान’ जनकल्याणकारी परियोजनाको शुभारम्भ समारोहमा सो सम्बन्धमा जानकारी दिइएको थियो।
साथै कार्यवाहक राजदूत रोशन खनाल र चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोले संयुक्त रूपमा परियोजनाको नमुना पनि सार्वजनिक गरेका थिए।
लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान चीन र नेपाल बीचको एक सार्वजनिक कल्याण र सांस्कृतिक सहयोग परियोजना हो। यहाँ प्रार्थना, ध्यान, धार्मिक समारोह र आध्यात्मिक अभ्यास गर्ने तथा र सांस्कृतिक प्रदर्शनी हलहरू र सार्वजनिक कल्याणकारी सुविधा र पर्यटनका लागि सुन्दर बगैँचाहरू उपलब्ध हुनेछन्।
यस परियोजनाले चीन र नेपाल बीचको सांस्कृतिक, धार्मिक, शैक्षिक र पर्यटकीय सहयोगलाई थप मजबुत बनाउनेछ। लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा यस परियोजनाले धार्मिक, सांस्कृतिक, शैक्षिक अनुसन्धान र बुद्ध अध्ययनमा अन्तर्राष्ट्रिय आदानप्रदानलाई समर्थन गर्नेछ।

यसले लुम्बिनीलाई विश्वव्यापी पवित्र स्थलको रूपमा विकास गर्ने र नेपाल चीन बौद्ध धर्मावलम्बी तथा आमजनता बीचको आदानप्रदानका लागि नयाँ सांस्कृतिक प्रतीक बन्ने छ। यो उद्यान शान्ति, सद्भाव र सांस्कृतिक आदानप्रदानको प्रतीकको रूपमा उभिनेछ।
चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष पोले परियोजना सम्बन्धमा जानकारी दिएका थिए। यस परियोजना लुम्बिनी विश्वविद्यालयका दुई क्याम्पसहरूमा स्थापना गरिने र यसको कुल क्षेत्रफल करिब १३ हजार वर्गमिटर रहने उनले बताए। करिब ३० मिलियन चिनियाँ युआन लगानी रहने यस परियोजनालाई तीन वर्षमा सम्पन्न गर्ने योजना छ।
लुम्बिनी प्रार्थना तथा पुण्य उद्यान परियोजनाले चीन र नेपाल बीचको सांस्कृतिक र धार्मिक आदानप्रदानलाई सुदृढ गर्दै दुई देश बीचको मित्रतालाई थप बलियो बनाउने अपेक्षा छ।
नेपाली नृत्यबाट आरम्भ गरिएको कार्यक्रमलाई नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले स्वागत मन्तव्य राख्दै दुई देश बीचको सम्बन्धमा बुद्ध तथा बौद्ध धर्मको महत्त्व बारे चर्चा गरेकी थिइन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले भिडियोमार्फत सम्बोधन गर्दै आजको तनावपूर्ण विश्वमा शान्ति, मित्रवत् सांस्कृतिक आदानप्रदान तथा साझा समृद्धि आवश्यक रहेको बताए। कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनीको प्रोमोसनल भिडियो पनि देखाइएको थियो।
दस हजार व्यक्तिको नेपालको यात्रा
कार्यक्रममा दस हजार चिनियाँलाई नेपालको भ्रमण गराउने घोषणा गरिएको छ। चनथु अटेन ह्याप्पी ट्राभल सर्भिसका प्रतिनिधिले आफ्नो सम्बोधनमा ‘दस हजार व्यक्तिको नेपालको यात्रा’ चार्टर उडान पर्यटन परियोजना घोषणा गरेका हुन्।

चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रले सो ट्राभल सर्भिसलाई नेपाल चीन सांस्कृतिक प्रवर्द्धन दूतका रूपमा नियुक्तसमेत गरेको छ। कार्यक्रममा चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रले दूतावासलाई बुद्ध मूर्ति प्रदान गरेको थियो भने दूतावासले उक्त केन्द्रलाई योगदानबापत कदर पत्र प्रदान गरेको थियो।
चीन नेपाल सांस्कृतिक, धार्मिक तथा पर्यटन सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा चिनियाँ वाद्यवादकको पनि प्रस्तुती रहेको थियो। साथै दूतावास परिसरमा युनेस्को विश्व सांस्कृतिक सम्पदा स्थल लुम्बिनी क्षेत्रका फोटोहरू पनि प्रदर्शनमा राखिएको थियो।






