विश्व च्याम्पियनलाई पराजित गरिरहेको जिम्बाबे

हिमाल प्रेस ८ फागुन २०८२ ७:०१ | Friday, February 20, 2026
14
SHARES
विश्व च्याम्पियनलाई पराजित गरिरहेको जिम्बाबे

काठमाडौँ- जिम्बाबेले जारी टी-२० विश्वकपमा लगातार दोस्रोपटक पूर्वविश्व च्याम्पियन टोलीलाई हराएको छ। बिहीबार कोलम्बोमा भएको खेलमा जिम्बाबेले सन् २०१४ को विश्व च्याम्पियन श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।

यसअघि १३ फेब्रुअरीमा जिम्बाबेले सन् २०२१ को च्याम्पियन अस्ट्रेलियालाई २३ रनले हराएको थियो। सुपर-८ चरणमा जिम्बाबेको पहिलो खेल २३ फेब्रुअरीमा मुम्बईमा वेस्टइन्डिजसँग हुनेछ।

त्यसपछि २६ फेब्रुअरीमा चेन्नईमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। सुपर-८ को अन्तिम खेल १ मार्चमा दिल्लीमा साउथ अफ्रिकाविरुद्ध हुनेछ।

हाल जिम्बाबे आईसीसी वरीयतामा ११औँ स्थानमा रहेको छ। यस जितसँगै जिम्बाबे ७ अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो भने श्रीलंका ६ अंकसहित दोस्रो स्थानमा सीमित भयो।

१७९ रनको लक्ष्य पछ्याएको जिम्बाबेले १९.३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पार्‍यो। ओपनर ब्रायन बेनेटले महीश तीक्षणाको बलमा चौका प्रहार गर्दै टोलीलाई विजयी बनाएका थिए।

उनले ४८ बलमा अविजित ६३ रन बनाए जसमा ८ चौका समावेश थिए। कप्तान सिकन्दर रजाले ४५ रनको योगदान दिए भने तदिवानाशे मारुमनीले ३४ रन जोडे। श्रीलंकाका दशुन हेमन्थाले २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। ओपनर पथुम निसांकाले ४१ बलमा ६२ रनको अर्धशतकीय पारी खेले।

जसमा ८ चौका रहेका थिए। पवन रत्नायकेले ४४ रन बनाए। जिम्बाबेका तीन बलरले समान २/२ विकेट लिए भने एक विकेट रायन बर्लको नाममा रह्यो। निसांकाको उत्कृष्ट पारीका बाबजुद श्रीलंका हारबाट जोगिन सकेन।

प्रकाशित: ८ फागुन २०८२ ७:०१ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast