युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की
काठमाडौँ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको द्वन्द्व अन्त्यको सुरुवातमा रहेको बताएका छन्। साथै, उनले वासिङ्टनलाई भ्लादिमिर पुटिनको वार्तासम्बन्धी खेलहरू बुझ्न आग्रह गरेका छन्।
रुसी आक्रमणको चौथो वार्षिकोत्सवको पूर्वसन्ध्यामा फाइनान्सियल टाइम्ससँगको अन्तरवार्तामा राष्ट्रपति जेलेन्स्कीले पश्चिमी सुरक्षाको ठोस ग्यारेन्टीबिना मस्कोले युद्धविरामलाई अर्को आक्रमणका लागि आफ्नो सेना पुनर्गठन गर्न प्रयोग गर्ने चेतावनी दिए।
जेलेन्स्कीले युरोपेली संघ (ईयू) लाई ढिलासुस्ती बन्द गर्न र युक्रेनलाई सदस्यता दिने निश्चित मिति तय गर्न आग्रह गरे। ‘मलाई एउटा मिति चाहिन्छ। म त्यसकै माग गरिरहेको छु’, उनले भने, ‘आगामी नेताहरू वा अर्को पुस्ताले यस्तो अवस्थाको सामना गर्न नपरोस् जहाँ रुसले युक्रेनको ईयू सदस्यतालाई ५० वर्षसम्म रोकेर राखोस्।’
जेलेन्स्कीले रुसी नेताले किभको वार्ताको स्थितिलाई कमजोर बनाउन डोनाल्ड ट्रम्पसँगको सामीप्यता प्रयोग गरिरहेको आरोप लगाए। शान्तिवार्ता कसरी अगाडि बढिरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘रुसीहरू खेल खेलिरहेका छन् र उनीहरू युद्ध अन्त्य गर्नेबारे गम्भीर छैनन्।’
‘म यो देख्न सक्छु, किनभने उनीहरू धेरै खराब कलाकार हुन्। उनीहरू ट्रम्प र पूरै संसारसँग खेलिरहेका छन्’, फिल्म स्टारबाट राष्ट्रपति बनेका जेलेन्स्कीले व्यङ्ग्य गर्दै भने, ‘पुटिनलाई लाग्छ उनी विश्वस्त देखिन्छन् र उनलाई विश्वास गर्न सकिन्छ, तर होइन- उनी एक खराब कलाकार हुन्।’
जेलेन्स्कीले आफ्ना गुप्तचर निकायलाई उद्धृत गर्दै रुसी अधिकारीहरूले अमेरिकासँग १२ ट्रिलियन डलर (करिब १६०० खर्ब नेपाली रुपैयाँ) बराबरको आर्थिक सहयोगको प्रस्ताव अघि सारेको दाबी गरे। उनका अनुसार उक्त प्रस्तावमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रका प्राकृतिक स्रोतहरूको दोहन गर्न सक्ने प्रावधानहरू थिए।
युक्रेनले आफ्नो सैन्य शक्ति पुनर्गठन गर्न युद्धविरामको प्रयोग गर्नेछ भन्ने पुटिनको तर्कलाई उनले ठाडै अस्वीकार गरे। ‘यो भ्रामक प्रचार र झूट हो,’ उनले भने। मस्कोले प्रतिमहिना ४० हजार सेना परिचालन गरिरहेको र ३५ हजार गुमाइरहेको उल्लेख गर्दै उनले थपे, ‘त्यसैले हामीलाई जत्तिकै उनीहरूलाई पनि युद्धमा विश्रामको आवश्यकता छ।’
‘युक्रेनलाई युद्धविराम चाहिएको छ- हिजो, आज र भोलि’, उनले स्पष्ट पारे, ‘तर हामीलाई विश्राम होइन, युद्धकै अन्त्य चाहिएको हो।’
गुप्तचर मूल्यांकन उद्धृत गर्दै जेलेन्स्कीले सन् २०२५ मा रुसको रणमैदानी प्रगति निकै महँगो सावित भएको बताए। उनका अनुसार रुसले ओगटेको प्रति किलोमिटर क्षेत्रका लागि औसतमा १६७ सैनिकको ज्यान गएको छ। उनले दक्षिण-पूर्वी मोर्चामा युक्रेनी सेना अघि बढिरहेको र यसमा रुसी सेनाले प्रयोग गर्ने ‘स्टारलिंक’ उपग्रह प्रणालीको अनधिकृत प्रयोगमा लगाइएको प्रतिबन्धले मद्दत पुगेको बताए।
जेलेन्स्कीले पूर्वी डोनबास क्षेत्र सुम्पिए युद्ध रोकिने अमेरिकी विश्वासलाई अदूरदर्शी संज्ञा दिए। मलाई विश्वास लाग्दैन कि रुसको माग यति मात्र हो। रुस आखिर रुस नै हो, तपाईं उनीहरूलाई विश्वास गर्न सक्नुहुन्न’, उनले भने।
उनले पश्चिमी सहयोगीहरूलाई युक्रेनभित्रै हतियार उत्पादनका लागि लगानी गर्न आह्वान गर्दै युक्रेनमा निर्मित ‘एफपी-५ फ्लेमिंगो’ क्रुज क्षेप्यास्त्रले रुसको भित्री भागमा रहेको प्रमुख उत्पादन केन्द्रमा सफल प्रहार गरेको पुष्टि गरे। उनले ट्रम्पले मस्कोलाई भन्दा किभलाई बढी दबाब दिएको गुनासो गरे पनि अमेरिकी राष्ट्रपतिले अन्ततः कुरा बुझ्नेमा आफू आशावादी रहेको बताए।





