काठमाडौँ– आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सम्पन्न भएको छ।
आइतबार त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा सुपर सिक्स चरणको अन्तिम खेलमा स्कटल्यान्डले अमेरिकालाई ४१ रनले पराजित गरेसँगै प्रतियोगिता सम्पन्न भएको हो।
यससँगै आगामी वर्ष बेलायत र वेल्समा आयोजना हुने विश्वकप खेल्ने चार टोलीको टुंगो लागेको छ। चार टोलीमा बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड रहेका छन्।
आइतबार सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो। यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन्।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो।
छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोली भने समूह चरणका चार खेलमध्ये तीनमा हार र एकमा जितको नतिजा निकाल्दै समूह ‘बी’ का पाँच देशमध्ये चौथो स्थानमा रह्यो।
नेपालसहित १० देशका महिला टोली सहभागी प्रतियोगितामा त्रिवि क्रिकेट रंगशाला र मूलपानी क्रिकेट मैदानमा गरी २९ खेल भएका थिए।
बंगलादेशकी कप्तान ज्योति सुल्ताना ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भइन् भने प्रतियोगितामा स्कटल्यान्डकी ग्याबि लुइस उत्कृष्ट ब्याटर तथा अमेरिकी तारा नोरिश उत्कृष्ट बलर घोषित भइन्।
प्रतियोगिताका चारवटै खेल जितेर १० अंक हासिल गरेको बंगलादेशले ट्रफी प्राप्त गरेको छ।



