हात मिलाउलान् त भारत-पाकिस्तानका खेलाडीले?

हिमाल प्रेस ३ फागुन २०८२ १५:११ | Sunday, February 15, 2026
6
SHARES
हात मिलाउलान् त भारत-पाकिस्तानका खेलाडीले?

काठमाडौँ-  पाकिस्तानी क्रिकेट टोलीका कप्तान सलमान अली आगाले भारतीय खेलाडीहरूले चाहेमा खेलअघि र खेलपछि आफ्नो टोलीसँग हात मिलाउन सक्ने तर यो पूर्ण रूपमा भारतीय खेलाडीहरूमा नै निर्भर रहने बताएका छन्। टी-२० विश्वकपअन्तर्गत आइतबार साँझ भारत र पाकिस्तानबीच कोलम्बोमा हुन लागेको  खेललाई लिएर विश्वभर चासो उत्पन्न भएको छ।

त्यसैले प्रशंसकहरूको नजर यस खेलमा केन्द्रित छ। इतिहास हेर्दा भारत र पाकिस्तानबीचको राजनीतिक र कूटनीतिक तनावको असर मैदानमा पनि देखिन सक्ने शंका छ। आगाले भने खेललाई सधैँ यसको वास्तविक भावनाका साथ खेलिनुपर्ने र बाँकी निर्णय भारतीय टोलीले गर्नुपर्ने बताए।

भारत र पाकिस्तानबीचको तनाव नयाँ होइन। यो तनाव क्रिकेट मैदानसम्म पुग्ने गर्छ। यो खेल गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलिएको एसिया कपपछि यी दुई टोलीबीचको पहिलो भिडन्त हो। उक्त प्रतियोगितामा भारतले उपाधि जितेको थियो तर खेलाडीहरूबीच धेरै पटक तिक्तता देखिएको थियो।

त्यति बेला हात मिलाउने विषयलाई लिएरसमेत विवाद उठेको थियो। त्यसबेला भारतीय कप्तानले पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएका थिएनन्। उक्त कदमको कडा आलोचना भएको थियो। यसपटक पनि वातावरण तनावपूर्ण छ र खेलअघिका विभिन्न प्रतिक्रियाले यस भिडन्त थप संवेदनशील बनाइदिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सुरक्षा कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेपछि बंगलादेशलाई विश्वकपबाट बाहिर निकालेपछि पाकिस्तान सरकारले यो खेल बहिष्कार गर्ने धम्की दिएको थियो। आईसीसी र पाकिस्तानबीचको वार्तापछि मात्र पाकिस्तान खेल्न सहमत भएको हो। यो खेल आईसीसीका लागि आम्दानीको ठूलो स्रोत मानिएको छ। त्यसैले यसको सुरक्षा र आयोजनामा विशेष ध्यान दिइएको छ।

गत एसिया कपका क्रममा भारतीय कप्तान सूर्यकुमार यादवले आगासँग हात मिलाउन अस्वीकार गरेपछि तनाव चरम सीमामा पुगेको थियो। त्यसपछि पूरा प्रतियोगिताभरि दुवै टोलीका खेलाडीहरूबीच पटक-पटक भनाभन देखिएको थियो। सूर्यकुमार र पाकिस्तानका बलर हारिस रउफले आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवानासमेत भोग्नुपरेको थियो। भारतले उपाधि जितेको थियो। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेपछि वातावरण थप तनावपूर्ण बनेको थियो।

आगाले शनिबार सञ्चारमाध्यमसँग भने, ‘खेल सधैँझैँ वास्तविक भावनाका साथ खेलिनुपर्छ। बाँकी निर्णय भारतको हो कि उनीहरू के गर्न चाहन्छन्।’

अर्कोतर्फ सूर्यकुमारले यसबारे कुनै स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘तपाईं यसलाई किन उछाल्दै हुनुहुन्छ? हामी यहाँ क्रिकेट खेल्न आएका हौँ। हामी राम्रो क्रिकेट खेल्नेछौँ।’

लामो समयदेखि दुई देशबीचको राजनीतिक र सैन्य तनावका कारण कुनै पनि द्विपक्षीय शृंखला भएको छैन। भारत सन् २००८ पछि पाकिस्तान गएको छैन। पाकिस्तानको टोली सन् २०२३ मा भारतमा भएको ५० ओभरको विश्वकपमा सहभागी भएको थियो। तर द्विपक्षीय क्रिकेटको पुनर्बहाली अझै टाढाको कुरा हो। दुवै देश आईसीसी प्रतियोगिताहरू वा अन्य देशको भूमिमा मात्र आमनेसामने हुने गर्छन्।

टी-२० खेलमा अहिलेसम्म भारतको पल्लाभारी देखिएको छ। यी दुई टोलीबीच हालसम्म कुल १६ वटा टी-२० खेल भएका छन्, जसमध्ये १२ खेलमा भारतले जित हात पारेको छ। टी-२० विश्वकपमा पनि भारतले ८ मध्ये ६ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो।

आगाले विश्वकपमा भारतविरुद्ध पाकिस्तानको रेकर्ड राम्रो नरहेको कुरा स्वीकार गरे, तर उनले क्रिकेटमा हरेक खेल नयाँ हुने बताए। उनले भने, ‘तपाईं इतिहास बदल्न सक्नुहुन्न, तर त्यसबाट सिक्न सक्नुहुन्छ। हामीले त्यसबाट सिकेका छौँ र खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ।”

यादवले पनि आफ्नो टोलीले पुराना याद पछाडि छोडेर मैदानमा उत्रने बताएका छन्। पुरानो रेकर्डका कारण आउने लापरबाही टोलीका लागि हानिकारक हुन सक्ने उनको भनाइ छ। अर्कोतर्फ पाकिस्तानका स्पिनर उस्मान तारिकको बलिङ शैली पनि विवादको विषय बनेको छ। भारतीय सञ्चारमाध्यममा उनले बल फ्याँक्ने तरिकामाथि प्रश्न उठाइएको छ। किनभने उनी बल प्रहार गर्नुभन्दा ठिक अगाडि एकक्षण रोकिन्छन्।

यस विषयमा आगाले भने, ‘यी खेलाडीले आईसीसीका सबै आवश्यक प्रक्रियाहरू पूरा गरेका छन्। मानिसहरू उनलाई लिएर किन यति धेरै प्रश्न उठाइरहेका भन्नेबारे मलाई थाहा छैन। तर के कुरा निश्चित छ भने उनलाई यसले केही फरक पर्दैन।’

भारतका आक्रामक ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माको स्वास्थ्यलाई लिएर पनि चर्चा भइरहेको छ। नामिबियाविरुद्धको खेलमा पेटको संक्रमणका कारण उनी सहभागी भएका थिएनन्। आइतबार साँझ सात बजे हुने खेल क्रिकेटको दृष्टिकोणले मात्र होइन, दुई देशबीचको तनावपूर्ण सम्बन्धका बीच खेल्न लागेकाले पनि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। दुवै टोली क्रिकेट मैदानमा यो तनावलाई बिर्सेर राम्रो प्रदर्शन गर्ने अपेक्षामा छन्। भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ३ फागुन २०८२ १५:११ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast