काठमाडौँ- सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) व्यवस्थापनका लागि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ल्याएको योजना अलपत्र परेको छ। महावीर पुन मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीमा चुनाव प्रचारमा व्यस्त भएपछि मन्त्रालयमा उनका योजना अलपत्र परेका हुन्। अब उक्त योजना अगाडि बढ्ने नबढ्ने कुनै ग्यारेन्टी नभएको मन्त्रालय स्रोत बताउँछ।
मन्त्री पुनले शिक्षा मन्त्रालयका अनावश्यक खर्च कटौती गरेर ईसीडी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्याएका थिए। मन्त्रालयले शिक्षा ऐन, नियमावली, कार्यविधि, अनुगमन तथा एनओसी शाखासम्बन्धी शीर्षकमा समेत बजेट छुट्याएर खर्च गरिएको तर अपेक्षित काम नभएको पुन सचिवालयको भनाइ थियो। यससँगै बैठक सञ्चालन खर्च, भत्ता शीर्षकमा करिब ७ करोड रुपैयाँ खर्च गरेको पुन सचिवालयको दाबी थियो।
सरकारले ईसीडी शिक्षक व्यवस्थापनमा बजेट अभाव देखाइरहेका बेला मन्त्रालयभित्र अनावश्यक शीर्षकमा खर्च भएको आफूहरूको अध्ययनले देखाएको सचिवालयको भनाइ थियो।
यस विषयमा आफू बेखर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार हिमालप्रेसलाई बताए। उनले उनले भने, ‘यस विषयमा मलाई केही जानकारी छैन। जानकारी भएपछि भन्छु।’



