चुनाव सम्पन्न भएपछि के भन्छन् बंगलादेश अन्तरिम सरकार प्रमुख?

हिमाल प्रेस १ फागुन २०८२ ८:१२ | Friday, February 13, 2026
8
SHARES
चुनाव सम्पन्न भएपछि के भन्छन् बंगलादेश अन्तरिम सरकार प्रमुख?

ढाका- बंगलादेश अन्तरिम सरकारका प्रमुख प्रोफेसर मुहम्मद युनुसले बिहीबार १३औँ राष्ट्रिय संसदीय निर्वाचन र जुलाई राष्ट्रिय चार्टरको कार्यान्वयनसम्बन्धी जनमतसंग्रहमा जनताले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै देशको भविष्य निर्धारणमा सक्रिय भूमिका खेलेको बताएका छन्।

बिहीबार मतदान समाप्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,‘निर्वाचनको शान्तिपूर्ण, व्यवस्थित र उत्सवमय सञ्चालनले राष्ट्रको लोकतन्त्रप्रतिको दृढ प्रतिबद्धता झल्काएको छ। मतदाताको स्वेच्छिक सहभागिता, राजनीतिक दलहरूको जिम्मेवार व्यवहार, उम्मेदवारहरूको संयम र निर्वाचनसँग सम्बन्धित सबै निकायको पेसागत क्षमताको समग्र प्रयासले हाम्रो लोकतन्त्रप्रतिको प्रतिबद्धता दृढ रहेको प्रमाणित गरेको छ। संवैधानिक अधिकार प्रयोग गरेर जनताले देशको भविष्य निर्धारणमा सक्रिय भूमिका खेलेका छन्।’

युनुसले सफल मतदान र जनमतसंग्रहको लागि सम्पूर्ण जनतालाई हृदयदेखि बधाई र कृतज्ञता व्यक्त गरे। उनले निर्वाचन आयोग, कानुन प्रवर्तन निकाय, सशस्त्र सेना, प्रशासन, पर्यवेक्षक टोली, सञ्चारकर्मी तथा मतदान प्रक्रियामा संलग्न सबै कर्मचारी र अधिकारीहरूलाई विशेष धन्यवाद दिए। उनी भन्छन्,‘उनीहरूको समर्पण र कडा मेहनतका कारण यस विशाल लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको हो।’

मतगणना पश्चात् राजनीतिक सद्भाव कायम राख्न उनले राजनीतिक दल र उम्मेदवारलाई लोकतान्त्रिक मर्यादा, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गरे। उनले भने,‘मतभिन्नता रहन्छ तर राष्ट्रिय हितमा हामी एकताबद्ध हुनुपर्छ।’

युनुसले जनता नै सबै शक्तिको स्रोत भएको बताउँदै उत्तरदायी, समावेशी तथा न्यायसम्मत राज्य निर्माणतर्फ साझा रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उनी यसलाई देशको इतिहासमा सबैभन्दा शान्तिपूर्ण र उत्सवमय निर्वाचनको रूपमा वर्णन गर्दै भन्छन्,‘यदि यस निरन्तरतालाई कायम राख्न सकियो भने हाम्रो लोकतन्त्र उत्कृष्टताको उच्चतम शिखरमा पुग्नेछ।’

प्रकाशित: १ फागुन २०८२ ८:१२ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast