बागलुङका मतदाताका प्राथमिकतामा के छन् एजेन्डा?

हिमाल प्रेस २ फागुन २०८२ १२:४७ | Saturday, February 14, 2026
बागलुङका मतदाताका प्राथमिकतामा के छन् एजेन्डा?

बागलुङ- सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन्। यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्दै घरदैलो पुग्दै गरेका उम्मेदवारसँग बागलुङ–२ का मतदाताले यिनै समस्या सुनाउने गरेका छन् । ढोरपाटन नगरपालिका–९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नुृ परेको बताए। उनले भने, ‘गाउँमा सडक बनेपछि सुविधा होला भन्ने सोचेका थियौँ । तर सुविधाभन्दा बढी सास्ती भएको छ । चुनाव आउँदा यो सडक हामी बनाउँछौँ भोट दिनुभन्दा आउँछन् । भोट दिएर जितेपछि कोही पनि गाउँ फर्किएर आउँदैनन् । यो सडकले हामीलाई कति दुःख दिएको छ । यसको समाधान गर्न सक्ने नेतालाई यसपालीको चुनावमा भोट दिन्छौँ।’

स्थानीय तुलबहादुर घर्ती मगरले घरै नजिकको जङ्गलबाट दैनिक बाँदर, चितुवा र बँदेल आएर बालीनालीको क्षति गरि दिने र मान्छेलाई आक्रमण गर्ने गरेको गुनासो गरे। वन्यजन्तुबाट समस्यामा पर्दै आएका स्थानीयको समस्या बुझ्ने उम्मेदवारलाई गाउँका स्थानीयले एकै ठाउँमा भोट दिने सल्लाह गरेको सुनाए।

‘बिहान बेलुका बाँदर, बँदले ढपाउँदैमा दिन जान्छ । बारीमा लगाएको तरकारी, बालीनाली केही बाँकी राख्दैन। आइमाइ केटाकेटी एक्लै वरपर गर्न पनि गाह्रो हुन्छ’, उनले भने, ‘चुनावका बेला हामीलाई भोट दिनु समस्या समाधान गर्छौँ भन्ने धेरै नेता आए । तर चुनाव जितेर कहाँ गए गए?’

निसीखोला गाउँपालिका–५ कुँडेका गंगाबहादुर विकले सडक व्यवस्थित नहुँदा यात्रा र सामान ढुवानी गर्न निकै कठिन हुने बताए। अप्ठ्यारो र साँघुरो सडकका कारण बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महँगो भाडा तिर्न बाध्य भएको उनको भनाइ छ। यसपाली बुर्तिबाङ–ढोरपाटन र ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने उनले सुनाए।

प्रकाशित: २ फागुन २०८२ १२:४७ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast