पश्चिम एसिया अशान्त : तेलको भाउ बढ्ने संकेत

हिमाल प्रेस १६ फागुन २०८२ २१:५७ | Saturday, February 28, 2026
8
SHARES
पश्चिम एसिया अशान्त : तेलको भाउ बढ्ने संकेत इजरायलले इरानमाथि शनिबार गरेको आक्रमणपछि देशभरि उच्च सतर्कता जारी गरेसँगै उत्तरी इजरायलको हाइफा खाडीमा आकाशबाट आएको एउटा क्षेप्यास्त्र पानीमाथि विस्फोट हुँदै। तस्बिर : एपी/रासस

काठमाडौँ- तेल बजार सप्ताहान्त (शनिबार र आइतबार) का लागि बन्द छ। तेल उत्पादन र ढुवानीमा इरानमाथि अमेरिकी आक्रमणको प्रभाव कस्तो रहन्छ भन्ने अन्योलका बीच आगामी साता मूल्यमा ठूलो उतारचढाव आउने निश्चित देखिएको छ।

द्वन्द्व-पूर्वका परिदृश्यका अनुसार इरानी पाइपलाइनहरू र उसको ‘खार्ग टापु’ टर्मिनल सञ्चालनमा रहे भने सुरुमा मूल्यमा केही वृद्धि देखिए पनि पछि त्यो मत्थर हुनेछ। तर तेलका पूर्वाधार वा आपूर्तिमा अवरोध आयो भने मूल्यमा अझ ठूलो वृद्धि र लामो समयसम्म प्रभाव रहनेछ।

रिस्टाड इनर्जीका अनुसार इरानको परमाणु कार्यक्रम र इस्लामिक रिभोलुसनरी गार्ड्समा मात्र सीमित रहने तथा सत्ता परिवर्तन वा पूर्ण युद्धको स्थिति नआउने खालका आक्रमणहरूले मात्र पनि त्रासका कारण मूल्य प्रतिब्यारेल पाँचदेखि १० डलरसम्म बढ्न सक्छ।

यद्यपि सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका क्लेटन सेइगलका अनुसार इरानले ट्यांकर यातायात अवरुद्ध पार्ने गरी व्यापक युद्ध निम्तियो भने कच्चा तेलको मूल्य ९० डलर प्रति ब्यारेल नाघ्न सक्छ र अमेरिकामा ग्यासको मूल्य प्रति ग्यालन तीन डलरभन्दा धेरै माथि जान सक्छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड शुक्रबार सात महिनायताकै उच्च बिन्दु ७२.८७ डलरमा बन्द भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणलाई इरानको सैन्य क्षमता नष्ट गर्ने र परमाणु हतियारको खतरा समाप्त पार्ने एक विशाल अभियानको संज्ञा दिएका छन्। ट्रम्पले इरानी जनतालाई सम्बोधन गर्दै सन् १९७९ देखिको शासनविरुद्ध उत्रिएर आफ्नो भाग्यको फैसला आफैँ गर्न आह्वान गरेका छन्।

इरानको रिभोलुसनरी गार्डले जवाफी आक्रमण सुरु गरेको जनाएको छ। इरानले इजरायलतर्फ ड्रोन र मिसाइल प्रहार गर्नुका साथै बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाएको दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार दक्षिण इरानको एउटा विद्यालयमा भएको प्रहारमा कम्तीमा ५७ जनाको मृत्यु भएको छ।

प्रकाशित: १६ फागुन २०८२ २१:५७ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast