नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
पोखरा – नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्।
कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन्।
अहिले समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताएका हुन्।
‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ। त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई। त्यो कांग्रेस हो। हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ।’
सभापति थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए।
‘नागरिकहरूमा रीस छ। त्यो रीस गहिरो छ। राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ,’ उनले अघि थपे, ‘यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ। यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने।’
सभापति थापाले राष्ट्रमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा आफ्नो पार्टी बदलिएर चुनावमा आएको उल्लेख गरे। उनले नेपाललाई विगतमा हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्ने बताए।
निर्वाचनलाई केन्द्रमा राखेर हरेक मतदाताका घरघरमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले जनतासँग कुरा गर्नुुका समस्यालाई धैर्यताका साथ सुन्नुपर्नेमा जोड दिए।
‘देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी पार्टी निर्वाचनमा होमिएको छ। अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देशसहित जनतामाझ जानुपर्छ। सबै पार्टी पंक्ति एकताबद्ध भएर निर्वाचनमा होमिऔँ,’ उनले भने।



