जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएका छौँ, सबै तागत चुनावमा लागेको छ : प्रधानमन्त्री

हिमाल प्रेस ७ फागुन २०८२ ११:४४ | Thursday, February 19, 2026
6
SHARES
जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएका छौँ, सबै तागत चुनावमा लागेको छ : प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार आयोजित समारोहमा सम्बाेधन गर्नुहुँदै । तस्बिर: किरणराज विष्ट / रासस

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण तागत लगाएको बताएकी छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिइन्। ‘प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनुहुँदैन। अब त खासमा यो एउटा जीवनशैली हो । यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ’, उनले भनिन्।

प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनुपर्ने बताइन्। ‘विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो’, उनले भनिन्।

वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै प्रधानमन्त्रीले सुशासन, पारदर्शीता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास अभिमुख भइरहेको स्पष्ट पारिन्।

प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् भन्दै प्रधानमन्त्रीले राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्नेमा जोड दिइन्। ‘हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो । ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरु खाली हुनुको प्रमुख कारण पनि यही नै हो’, उनले भनिन्।

प्रकाशित: ७ फागुन २०८२ ११:४४ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast